गौरीगंगामा पुल निर्माण गर्न ठेकेदारको अटेरी, कारबाही नहुँदा निर्माण अलपत्र
धनगढीः कैलालीको गोरीगंगामा दुईवटा पुल निर्माणको काम अलपत्र पारिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ खण्डैया खोला र वडा नम्बर १ को चौमाला खोलामा पुल निर्माणको काम अलपत्र पारिएको हो।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र वाई पी कन्ट्रक्सनबिच २०७७ श्रावण १ गते पुल निर्माणका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले २०७९ असार ३१ सम्म पुल निर्माणको काम सक्नुपर्ने थियो। तर, म्याद सकिएको १७ महिना वितिसकदा पनि निर्माण कम्पनी बेपत्ता छ। वाई पी कन्ट्रक्सनले पुलको काम अलपत्र पारेपछि स्थानीय भने हैरान छन्।
गौरीगंगा नगरपालिका–५ अण्डैया नदीमा वर्षातको समयमा बिरामी, विद्यार्थी तथा व्यवसायीहरुलाई पुल नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको छ। वर्षा भएको दिन विद्यार्थी विद्यालय जान समेत पाउँदैनन्। अण्डैया खोलाको बाढीले आवात–जावत बन्द हुने गरेको छ। पुरानो काठको पुलसमेत पटक–पटक मर्मत गर्दा पनि भत्किने समस्या रहेको छ। गत वर्षको असार ३१ गते भित्रै पुल निर्माण भइसक्नु पर्ने भए पनि अहिलेसम्म पिल्लर समेत गाडिएको छैन्। पाँच करोड २८ लाखमा अण्डैयामा पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको थियो।
पूर्वाधार विकास कार्यालय कैलालीले निर्माण कम्पनीलाई पटक–पटक मौखिक र लिखित पत्राचार गर्दै आए पनि बाँकी काम अघि बढ्न सकेको छैन। पूर्वाधार विकास कार्यालय कैलालीका निमित्त प्रमुख रामचन्द्र खत्रीले पुल निर्माणको सम्झौता अवधि सकिएको भए पनि काम हुन नसकेको बताए। उनले पुल निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताउदै आएका छन्। तर, निर्माण कम्पनीलाई कारबाही गरिएको छैन्।
गौरीगंगा नगरपालिकाको पुरानो चौमाला बजार जोड्ने पुल निर्माणका लागि सात करोड २७ लाखमा सम्झौता भएको थियो। चौमाला नदीमा पुल निर्माणको काम अझै सुरु भएको छ। चौमालाको पुल निर्माणका लागि डिजाइनमै त्रुटि भएको निर्माण कम्पनीको दाबी थियो।
गौरीगंगामा निर्माणाधीन १२ करोड ५५ लाखका दुईवटा पक्की पुल निर्माणको काम अलपत्र छ। पुल निर्माणको समय सकिएको १७ महिना भइसक्दा पनि निर्माणको काम आधा पनि भएको छैन्। पुल निर्माणको काम सन्तोषजनक नभएको भन्दै प्रदेश सरकार सम्झौता तोड्ने दाबी गर्दै आए पनि काम कारबाही अघि बढेको छैन्।