सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा चार वर्षमा १२ जनाको हत्या, ३० जनाको हत्याको प्रयास

टीकापुरमा हत्या गरिएका भूपेन्द्र, अनुप र विवेक
टीकापुरमा हत्या गरिएका भूपेन्द्र, अनुप र विवेक
२०८० मंसिर ४, १२:२१ कमल सावद

धनगढीः पूर्वी कैलालीमा आपराधिक गतिविधि घट्न सकेका छैनन्। जिल्लाको टीकापुर र लम्की क्षेत्रमा प्रत्येक वर्ष अपराधका घटनाहरूमा हुने गरेका छन्। 

इलाका प्रहरी कार्यालय, टीकापुरमा मात्र चार आर्थिक वर्षमा १२ वटा मुद्दा कर्तव्य ज्यानका दर्ता भएका छन्। टीकापुर प्रहरीका अनुसार चार वर्षमा १२ जनाको हत्या भएको हो। आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १२ जनाको टीकापुरमा हत्या भएको तथ्याङ्क प्रहरीको छ। 

इलाका प्रहरी कार्यालय टीकापुरले उपलब्ध गराएको तथ्याङ्कमा आर्थिक वर्ष २०७७/०७८ मा २ जनाको हत्या भएको थियो। आर्थिक वर्ष २०७८/०७९ मा चार जनाको टीकापुरमा हत्या भयो। गत आर्थिक वर्ष  २०७९/०८० मा २ जनाको हत्या भएकोमा चालु आर्थिक वर्षको हालसम्म मात्र चार जनाको हत्या भएको छ। टीकापुरमा चार आर्थिक वर्षमा १२ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको हो।

कैलालीको पूर्वी क्षेत्रमा आपराधिक गतिविधिमा कमी आएको छैन। चार वर्षमा टीकापुरमा ३० जनाको हत्याको प्रयास गरिएको छ। इलाका प्रहरी कार्यालय, टीकापुरको तथ्याङ्क अनुसार चार वर्षमा ३० वटा मुद्‍दा ज्यान मार्ने उद्योगमा दर्ता भएका हुन्। टीकापुर क्षेत्रमा ३० जनामाथि मार्ने उद्देश्य आक्रमण गरिएको प्रहरीले बताएको छ। एकै वर्षमा १५ जना माथि आक्रमण भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा १५ जना माथि ज्यान मार्ने उद्देश्य आपराधिक मानसिकता भएका व्यक्ति वा समूहले हतियारले आक्रमण गरेका हुन्। आर्थिक वर्ष २०७७/७८ मा १५ मुद्‍दा ज्यान मार्ने उद्योगमा दर्ता भएकामा दोस्रो वर्ष २०७८/०७९ मा भने सङ्ख्या घटेको देखिन्छ। उक्त आर्थिक वर्षमा टीकापुर प्रहरीमा ६ वटा मुद्‍दा ज्यान मार्ने उद्योगमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० मा पाँच र चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म चार वटा मुद्‍दा ज्यान मार्ने उद्योगका दर्ता भएका छन्। चालु आर्थिक वर्षको चार महिनामा नै चार जनाको टीकापुरमा हत्याको प्रयास गरिएको हो। 

टीकापुर प्रहरीका अनुसार भवितव्यमा पनि चार वर्षमा ५८ जनाको ज्यान गएको छ। टीकापुर क्षेत्रमा पानीमा डुबेर र करेन्ट लागेर चार वर्षमा ५८ जनाको मृत्यु भएको हो। आर्थिक वर्ष २०७७/०७८ मा २१ मुद्‍दा भवितव्यमा दर्ता भएका थिए। २०७८/०७९ मा १७, २०७९/०८० मा १३ र चालु आर्थिक वर्ष २०८०/०८१ मा सात मुद्‍दा भवितव्य ज्यानमा दर्ता भएका छन्। टीकापुर क्षेत्रमा चार वर्षमा २७ जना मृत फेला परेका छन्। उनीहरूको मृत्युको कारण खुलेको छैन। फुटकर ज्यानमा प्रहरीले चार वर्षमा २७ मुद्‍दा दर्ता गरेको हो। उनीहरूको विभिन्न कारणले मृत्यु हुने गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, भवितव्य ज्यान, फुटकर ज्यानसँगै अभद्र व्यवहारमासमेत मुद्‍दा दर्ताको सङ्ख्या धेरै छ। टीकापुरमा चार वर्षमा ७२ वटा मुद्‍दा अभद्र व्यवहारका दर्ता भएका छन। चार वर्षमा ७२ जनामाथि अभद्र व्यवहार  अर्थात् दुर्व्यवहार गरिएको हो। टीकापुर प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १५, आर्थिक वर्ष २०७८/०७९ मा ५२, आर्थिक वर्ष २०७९/०८० मा ४१ र चालु आर्थिक वर्ष २०८०/०८१ मा ११ जनालाई दुर्व्यवहार गरिएको छ। 

टीकापुर क्षेत्रमा नागरिक अझै सुरक्षित हुन नसकेका प्रहरीको तथ्याङ्कले देखाएको छ। टीकापुर क्षेत्रमा राजनीतिक र आर्थिक पहुँचको आधारमा आपराधिक क्रियाकलाप हुँदै आएका छन्। टीकापुर क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा संलग्नहरू भागेर भारत पस्ने गरेका छन्। टीकापुर क्षेत्रमा सक्रिय रहेका आपराधिक समूहहरूले किशोरहरूलाई प्रयोग गरेर विभिन्न घटनाहरू घटाउने गरेका छन्। घटनापछि उनीहरू फरार हुन्छन्। फेरि अन्य किशोरहरूलाई आपराधिक समूहहरूले नयाँ घटनामा संलग्न गराउन तयार पार्ने गरेका छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस