जाजरकोटमा चिसोले ३ जनाको मृत्यु
जाजरकोट: जाजरकोटमा चिसोका कारण ३ जना वृद्धको ज्यान गएको छ। भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाँउपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।
डुमे दमका दीर्घरोगी, त्रिपालको बसाइ, अत्यधिक चिसोले गर्दा उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। मनसरी पनि दमकी दीर्घरोगी भएको र त्रिपालमा बस्दा चिसोले दम बढेर उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए।
त्रिपालमुनिको बासले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण ४ जना दीर्घरोगीको मृत्यु भएको थियो। एक साताभित्रै चिसोले ७ जना वृद्धवृद्धाको मृत्यु भैसकेको छ।