सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन मन्त्री धामीले गरे पाताल भुवनेश्वरको स्थलगत अवलोकन

२०८० मंसिर २, ०७:२३

ललित बोहरा, बैतडीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बैतडीमा रहेको प्रसिद्ध पाताल भुवनेश्वर धार्मिक क्षेत्रको अवलोकन गरेका छन्। शनिवार बिहान मन्त्री धामीले पाताल भुवनेश्वर क्षेत्रमा पुगेर अवलोकन गरेका हुन्।

प्रदेशका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने क्रममा मन्त्री धामीले शनिवार बिहान पाताल भुवनेश्वर धाममा पुगेको बताए। पाताल भुवनेश्वर धार्मिक क्षेत्रको अवलोकन गर्दै मन्त्री धामीले नैनी ताल जस्तै बनाउन सकिने बताए। उनले भने, ‘यो क्षेत्र नैनी ताल जस्तै रहेछ चारै तिर जंगल बिचमा ताल, गुफाहरु छन् यसको संरक्षण र प्रचार प्रसारमा सुदूरपश्चिम सरकारले पहल गर्छ स्थानीयले सहयोग गर्नु पर्छ।’

पाताल भुवनेश्वर क्षेत्रमा रहेको कहिले नसुक्ने प्राकृतिक ताल र प्राकृतिक गुफाको प्रचारप्रसार, संरक्षण– सम्वद्र्धन तथा गुफाहरुको खोज अन्वेषणका लागि प्रदेश सरकारले पहल गर्ने मन्त्री धामीले प्रतिब्द्धता व्यक्त गरे। ‘मैले मन्त्रालयको कार्यभार सम्हालीसकेपछि प्रदेशभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन गरिरहेको छु,’ उनले भने ‘यस्ता क्षेत्रहरुको विकास तथा अध्ययन अनुसन्धान गर्नका प्रयास मैले गर्छु।’

मन्त्री धामीसंगै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा लगायत अन्य सरोकारवालाहरु पाताल भुवनेश्वर धाम क्षेत्रमा पुगेका थिए। पाताल भुवनेश्वर धाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ। पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख गरिएको पाइन्छ। भगवान विष्णुले राजा बलिलाई पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वरनाम रहेको बताईएको छ।

यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पाताल भुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ। पाताल भुवनेश्वर क्षेत्रमा दक्षिण एसीयाकै लामो गुफा रहेको बताइन्छ। यसको चारैतिर अन्य गुफाहरु पनि रहेका छन्। पाताल भुवनेश्वर धाम महाशिवरात्रीको अवसरमा ठूलो मेला लाग्ने गर्दछ भने श्रावणको महिना पनि भक्तजनहरु दर्शनका लागि पुग्ने गर्छन्। 
 

कमेन्ट लोड गर्नुस