सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मोहना छठी घाट सिँगारिँदै

२०८० कार्तिक २९, ०५:५९ खबर संवाददाता

धनगढीः धनगढीको मोहना छठी घाट सिँगारिँदै दैँछ। भाइटीकादेखि छठ सुरु हुने भएकाले मोहनामा तयारीको कामसमेत थालिएको समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए।

नेपाल–भारतको सीमा क्षेत्रमा पर्ने मोहनामा हरेक वर्ष छठको पूजा गर्ने गरिएको छ। मण्डलका अनुसार अहिले घाँटमा सरसफाइ, स्टल राख्ने, मुर्ति तयारी गर्ने, प्रवेशद्वार निर्माण लगायतका काम जारी छ। तराईमा विशेष पर्वका रूपमा मनाइने छठलाई धनगढीमासमेत प्रत्येक वर्ष मनाइने गरिएको छ। धनगढीमा छट मनाउनेको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको उनले बताए। यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुन्छन्।

छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन्।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको मण्डलले बताए।

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ। पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ। सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ।

ज्योतिषशास्त्रका आधारमा छठपर्वका समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारीसमेत मानिएको छ। छठपर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मीठाइ, अदुवा, उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ।

महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ। उक्त समयमा पाण्डव मिथिलाका किरात राजाका राज्यमा बास बसेका थिए। लोकगाथाअनुसार गुप्तवास सफल भएपछि सो समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ।

अर्कातिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल सौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डित शास्त्रको कथन छ। छठपर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य त्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ। भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ।

 

कमेन्ट लोड गर्नुस