काठमाडौँमा रातभर देउसी–भैलो खेल्न पाइने
काठमाडौँः काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न पाइने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ। इच्छुकहरूलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको हो। देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको स्थानीय प्रशासनले बताएको छ।
काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ।
दीपावली गर्दा आगलागी हुने जोखिम हुनाले सचेतता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन कडाइ गरिएको प्रजिअ बस्नेतले जानकारी दिए।