अछामको पञ्चदेवल विनायक नगरप्रमुखलाई रासस फोटो किताब हस्तान्तरण

अछामः अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिकाकुमारी चलाउनेलाई ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ हस्तान्तरण गरिएको छ। राससका महाप्रबन्धक सिद्धराज राईले नगरप्रमुख चलाउनेलाई सोमवार उक्त पुस्तक हस्तान्तरण गरेका हुन्।
रासस फोटो किताबमा नगरको पञ्चदेवलको तस्वीर प्रकाशित भएको छ। डोटीको सिलगढीस्थित राससको जग्गा रेखदेख गरी फर्किनेक्रम महाप्रबन्धक राई, प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायत राससका प्रतिनिधिले नगरप्रमुखसँग भेट गरेको हो। भेटवार्ताका क्रममा रासस र नगरप्रमुखबीच एकापसमा सहयोग, समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ।

पञ्चदेवल विनायकको तस्वीर प्रकाशन गरी नगरको प्रचारप्रसारमा सहयोग पु¥याएकामा नगरप्रमुख चलाउनेले राससलाई धन्यवाद दिए। छलफलमा नेपाल पत्रकार महासङ्घ अछामका अध्यक्ष रमेश राउत, गोरखापत्रका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहलगायतको उपस्थिति थियो।

डोटीको सिलगढीमा राससका नाममा जग्गा व्यवस्थापन गर्ने तत्कालीन स्थानीय समाचारदाता धनबहादुर मल्ललाई राससका महाप्रबन्धक राई र प्रशासन प्रमुख महतोसहितको टोलीले उनको घरमा पुगेर राससको लोगो अङ्कित खादा लगाएर सम्मान गरेको छ। नब्बे वर्ष पुगेका मल्ल राससको स्थापनाकालदेखि २०५५ सालसम्मा डोटीमा स्थानीय समाचारदाताका रूपमा कार्यरत थिए। सो अवसरमा नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बम, राससका प्रतिनिधिसहित स्थानीय पत्रकारहरूको उपस्थिति थियो।