सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली हिरासतमा मृत्यु भएका युवकको शव आफन्तले बुझे

२०८० कार्तिक २५, ११:०४ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका बेला मृत्यु भएका युवकको शव आफन्तले बुझेका छन्। हत्या अभियोगमा पक्राउ परेर थुनामै रहेकाबेला मृत्यु भएका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको शव शुक्रबार आफन्तले बुझेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सेट्टीको शव परीक्षणपछि आफन्तले बुझेको जानकारी दिए। उनकाअनुसार मृत्युको घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन्।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।

सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो। बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले मदिरा चोरी गरेको निहुँमा थापामाथि कुटपिट गरेका थिए।
 

कमेन्ट लोड गर्नुस