सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

२०८० कार्तिक २३, ०४:५७ खबर संवाददाता

धनगढीः बैतडीमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, बैतडीले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको जनाएको हो। 


देउसी–भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन, म्याद नाघेका सामग्रीहरू बिक्री नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरूको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन्। 

यस्तै, तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुनअनुसार कारबाही हुने उनले बताए। मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

चाडपर्वको बेला हुन सक्ने गैरकानुनी क्रियाकलाप रोक्नका लागि सुरक्षा योजनाअनुसार काम भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। तिहारलाई संयमित भई हर्षोल्लासका साथ मनाउन प्रशासनले आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस