सुदूरपश्चिममा गहुँ खेतीका लागि रासायनिक मलको अभाव नहुने
धनगढीः सुदूरपश्चिममा एक वर्षमा झन्डै २० हजार मेट्रिकटन रासायनिक मल आवश्यक पर्छ। प्रदेशमा युरिया र डिएपी १०/१० हजार मेट्रिकटन आवश्यक पर्ने आँकलन गरिएको छ। तर, किसानले माग गरेअनुसारको रासायनिक मल सरकारले आपूर्ति गर्न सकेको छैन।
नेपाल सरकारले दिने अनुदानको मल नपाएपछि किसानले भारतबाट मल खरिद गरेर प्रयोग गर्दै आएका छन्। तर, यो पटकको गहुँ खेतीका लागि भने सरकारी अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेडले मात्र दुई हजार ७ सय मेट्रिकटन युरिया र दुई हजार २ सय ६८ मेट्रिकटन डिएपी सहकारी मार्फत किसानलाई वितरण गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय, धनगढीका निमित्त प्रमुख नवलसिँह बोगटीले गहुँ खेतीका लागि रासायनिक मलको अभाव नहुने बताए। उनले भने, ‘गहुँका लागि मल आउँदैछ। समस्या छैन।’
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय, धनगढीको गोदाममा ६ सय ९१ मेट्रिकटन युरिया र तीन सय ८६ मेट्रिकटन डिएपी मौज्दात छ। तिहार लगत्तै थप मल आयात गर्ने योजनामा कृषि सामग्री रहेको छ। सुदूरपश्चिमको कोटाअनुसार मल आयात नभएपनि प्रदेशका किसानलाई गहुँ खेतीका लागि आवश्यक मल आपूर्ति हुने तर्क कृषि सामग्रीको छ। भने, ‘मंसिरमा थप मल आउँछ। तर, कति आउँछ भन्न सकिदैन।’
कैलाली र कञ्चनपुरका किसानले बढी रासायनिक मलको प्रयोग गर्दै आएका छन्। नेपाल–भारत सीमा क्षेत्रका किसानले भारतीय बजारबाट समेत रासायनिक मल ल्याउने गरेका छन्। कृषि सामग्रीले माग गरेका सहकारीहरूलाई मल वितरण गरेकाले अभाव नहुने तर्क गरेको छ। तिहारपछि थप मल आउने भएकाले यो पटकको गहुँ खेतीका लागि मलको अभाव नहुने दाबी गरिएको हो। ‘तिहार पछिसम्म वितरणका लागि हामीसँग मल छ। तिहारपछि थप मल पनि आउँछ। किसानलाई समस्या हुँदैन,’ उनले भने। कृषि सामाग्रीसँग साल्ट ट्रेडिङले पनि रासायनिक मल बिक्री गर्दै आएको छ।
सुदूरपश्चिम सरकारको अनुदानको मल समेत साल्ट ट्रेडिङले बिक्री गर्दै आएको छ।कृषि सामग्री कम्पनीले गहुँ खेतीका लागि अहिलेसम्म दुई हजार दुई सय ६८ मेट्रिकटन डिएपी र दुई हजार ७ सय मेट्रिकटन युरिया बिक्री गरेको छ। कैलालीसहित प्रदेशभित्र सञ्चालित कृषि सहकारीहरुले कृषि सामग्रीबाट मल खरिद गरेर किसानलाई वितरण गर्दै आएका छन्।