सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ११ वर्षको अवधिमा विपदबाट ७८ करोडको आर्थिक नोक्सानी

२०८० कार्तिक २२, ०६:५७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट ११ वर्षको अवधिमा ७८ करोडको आर्थिक नोक्सानी भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्लागत हिसाबले सबैभन्दा बढी नोक्सानी कैलालीमा करिब ३१ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको हो।

प्रदेशभित्र सबैभन्दा बढी नोक्सानी सन २०२१ मा भएको थियो। सन ९१७१ देखि २०१९ सम्म मात्र पहिरोबाट पाँच सय १०, बाढीबाट तीन सय १८, भूकम्पबाट एक सय १७, आगोबाट एक सय ६५ र चट्याङ्बाट एक सय २४ जनाको मृत्यु भइसकेको छ। कैलालीको धनगढीमा भएको सुदूरपश्चिममा विपद जोखिम न्युनिकरण र व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठीमा पुर्वशिक्षा मन्त्री एवं विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन्।

उनले सुदूरपश्चिममा पहिरो, भूकम्प, बाढी, आगलागी, शितलहर, चट्याङ्ग, सडक दुर्घटना, महामारी, जनावर आतंक लगायत विपदबाट वर्षेनि ठूलो आर्थिक एवं मानवीय क्षति हुने गरेको बताए। साथै सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेकाले समयमै सावधान अपनाउन समेत सबैमा आग्रह गरेका छन्।

सुदूरपश्चिममा ठूलो भूकम्प नगएको वर्षौ भइसकेकाले कुनै पनि समयमा शक्तिशाली भूकम्प आउन सक्ने भन्दै उनले सचेत र सजग रहन पनि आग्रह गरेका छन्। स–साना प्राकृतिक विपदको सामना सुदूरपश्चिमले वर्षेनि गर्दै आए पनि ठूलो भूकम्पबाट जोगिन अहिलेदेखि नै सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। यसका लागि सुरक्षित आवास, मापदण्डअनुसारका भौतिक संरचना निर्माण लगायतमा बढी ध्यान दिनुपर्ने उनको सुझाव छ।

कमेन्ट लोड गर्नुस