सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिहार नजिकिँदै जाँदा धनगढीमा फूल खेती गरेका किसानको व्यस्तता बढ्यो

२०८० कार्तिक २२, ०३:०२ खबर संवाददाता

धनगढीः ढकमक्क फुलेका सयपत्री र मखमलीले तिहार घर आँगनमै आइसकेको संकेत गर्छ। धेरै मानिसका घर, आँगन र बारीमा अहिले ढकमक्क फूल फूलिरहेका छन्। फूलहरुको पर्व तिहार नजिकिँदै जाँदा व्यावसायिक रुपमा फूल खेती गरिरहेका कैलालीको धनगढीका किसानको व्यस्तता पनि बढेको छ।

तिहार नजिकिएसँगै एक दर्जन पूष्प व्यवसायी किसानको व्यस्तता बढेको छ। बारीमा फूलेका सयपत्री र मखमली फूलको रेखदेखमा उनीहरुले समय दिइरहेका छन्। धनगढीमा ११ महिनादेखि प्लाष्टिकको फूल र प्लाष्टिकमा उपमहानगरले प्रतिबन्ध लगाएपछि त्यसको बजार स्थानीय उत्पादनले लिन थालेको छ। धनगढीमा प्लाष्टिकका झोला (पोलिथिन) समेत विक्रीवितरण गर्न प्रतिबन्ध छ।

तिहारमा यस वर्ष फूल अभाव नहुने गरी दर्जनौ किसान फुल उत्पादनमा लागेका छन्। स्थानीय किसानले धनगढीमा सयपत्री फूल उत्पादन गरेका छन्। फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना अनुसार दुई दर्जन बढी किसानले फूल खेती सुरु गरेका छन्। यो वर्ष दुई कट्ठामा फूल खेती गरेका धनगढी–१२ जुगेडाका प्रतापसिंह बिष्टले अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने योजना बनाएका छन्।

धनगढी–६ मटियारीमा सुशीला बिष्ट र शंकरसिंह बिष्टले यो वर्ष डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन्। धनगढी उपमहानगरपालिकाले दिएको पुष्पखेती सम्बन्धी तालिम लिएका बिष्ट दम्पतीले डेढ बिघा जग्गामा मखमली र सयपत्री फूल रोपेका छन्। धनगढी–१२ जुगेडा ‘डी’ गाउँकी आशा पन्त मिश्र गत वर्षबाट फूल खेती गर्न थालेकी हुन्।

गत वर्ष २० हजारको मखमली र ६० हजारको सयपत्री फूल बिक्री गरेकी मिश्रले यो वर्ष डेढ कट्ठामा कलकत्ते, स्थानीय र कर्मा पाँच सय ५५ जातको सयपत्री फूल लगाएकी छन्। धनगढी–१२ ‘सी’ गाउँ की कृतिका चन्दले पाँच कट्ठामा दुई हजार फूलका बिरुवा लगाएकी छन्। चन्दको यो वर्ष ८ टन फूल उत्पादन गर्ने लक्ष्य छ।

धनगढी–१३ अम्बिका टोलका पुष्करसिंह बिष्टले ११ कट्टा जग्गामा पुष्पखेती गरेका छन्। ६ हजार बिरुवाबाट ६ टन फूल उत्पादन गर्ने लक्ष्य बिष्टको छ। उपमहानगरले गत जेठमा दिएको पुष्पखेती सम्बन्धी तालिम र अहिले उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्ने बताएपछि अन्य किसान जस्तै पुष्कर पनि उत्पादन भएको फूल बिक्री हुनेमा ढुक्क छन्। तिहार, विवाह, पुजाआजासहितका कार्यका लागि धनगढीका किसानले फूलको कुनै अभाव नहुने गरी उत्पादन गरेका छन्।

कमेन्ट लोड गर्नुस