सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुलाकी सडक निर्माणमा ठेकेदारको लापरबाही

२०८० कार्तिक २२, ०२:२७ खबर संवाददाता

महेन्द्रनगरः तीस महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे ६ वर्षमा पनि पूरा हुन सकेको छैन।

२०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेको हो। हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले कञ्चनपुरको तीनवटा प्याकेजमध्ये हुलाकी सडकको दुईवटा खण्डको ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको बताए।

कञ्चनपुरमा डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटरको पहिलो प्याकेज पाँचौँ पटकको म्याद थपमा सकिएको थियो। बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे ९ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ भने बाँकी कालोपत्र गर्न निर्माण कम्पनीले सुरसार गरिरहेको उनले बताए।

उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धिसाई जेभीले पाएको थियो। सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न गरेको अवरोध कायम छ। त्यस्तै हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए।

सो प्याकेजमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने भूभाग कालोपत्र हुन सकेको छैन। समयमा सडक बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबारदेखि सो हुलाकी सडकमा पैदल यात्रा गर्ने अभियान सञ्चालन गर्दैछ। सो पार्टीका नेता जनक धामीले दोब्बर समय सकिँदा पनि सडक नबनेपछि आफूहरु रचनात्क रुपमा दबाद दिन ६४ किलोमिटर नै पैदल यात्रा गर्न लागेको बताए।

कैलालीमा ७३ किलोमिटर सडक विभिन्न प्याकेजमा निर्माणाधीन रहेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ। हुलाकी राजमार्ग योजना कार्यालय इन्जिनियर सुनारले कञ्चनपुरमा २०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको बताए। कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्र भएको छ भने बाँकी खण्डमा निर्माण जारी छ। –रासस

कमेन्ट लोड गर्नुस