सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पपीडितको राहतका लागि चीन सरकारले २६ करोड प्रदान गर्ने 

२०८० कार्तिक २२, ०५:५७ खबर संवाददाता

काठमाडौँः चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए।

यसअघि चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको थियो। चीनले दक्षिण एशियाली आपत्पकालीन सहयोगमार्फत प्रदान गरेको राहत सामग्रीको पहिलो खेप सोमबार नेपाल आइपुगेको छ। गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र धनमालको क्षति गरेको छ।

भूकम्पले ३५ हजार परिवार घरबारविहीन बनेका छन्। जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्णरूपमा भत्किएका छन्। त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन्। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन्।

यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन्। सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ।

भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा १ सय १ जना जाजरकोटका छन्। यो जिल्लामा १ सय ३३ जना घाइते छन्। त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन्। भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।

कमेन्ट लोड गर्नुस