सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपहरणमा परेका विपिनको उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली

२०८० कार्तिक १९, ०२:०९ खबर संवाददाता

कञ्चनपुरः प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली निकालिएको छ।

आइतबार बिहान विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब दिन र्‍याली निकालेका हुन्। एक महिनाअघि इजरायलमा हमासले आक्रमण गरी अपहरणमा परेका जोशीको रिहाइका लागि दबाबमुलक रुपमा र्‍याली निकालिएको हो। नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने माग गरिएको छ।

महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको छ। प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ। ज्ञापन पत्र बुझ्दै प्रजिअ गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए।

इजरायली सरकारले हालै जोशी हमास समूहको नियन्त्रणमा रहेको सार्वजनिक गरेको थियो। त्यसअघिसम्म उनको अवस्था अज्ञात थियो। जोशीको अवस्था सार्वजनिक भएपछि उनको परिवारमा केही आशा पलाएको छ। सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत जोशी अन्य विद्यार्थीसँगै ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत भदौमा इजरायल गएका थिए। जसमध्ये १० विद्यार्थीको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस