सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, २१ दिनमा १६ जनाको मृत्यु

२०८० कार्तिक १९, १२:४५ खबर संवाददाता

धनगढीः शनिबार राति धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। चालकसहित ६ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका–६ अण्यौलमा दुर्घटना भएको हो।

२१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ। त्यस्तै कैलालीको गोदावरी नगरपालिका–४ मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा खडकबहादुर विष्टको मृत्यु भएको छ।

शुक्रवार राति सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेलधुराको परशुराम नगरपालिका–११ का २१ वर्षीय विष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको हो। विहिबार मात्र डडेल्धुरामा मोटरसाइकल र कार एक आपसमा ठोक्किदा मोटरसाइकल चालक शम्भुसिंह धामको मृत्यु भएको छ।

आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१ च २९५५ नम्बरको कार एक आपसमा ठोक्किदा दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका करिब ५४ वर्षीय धामीको उपचारको क्रममा धगगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै बुधबार डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भयो भने १९ जना घाइते भए। दुर्घटनामा १८ वर्षीय सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

सुदूरपश्चिममा असोज २८ गते घटस्थापनादेखि कात्तिक ११ गते पूर्णिमासम्म मात्र सवारी दुर्घटनामा परेर थप ९ जनाको मृत्यु भएको छ। सो अवधिमा दुर्घटनामा परेर ११ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको अभिलेख छ। घटस्थापनादेखि पूर्णिमासम्म पाँच जिल्लामा सवारी दुर्घटना भएको रेकर्ड छ। सो अवधिमा कैलालीमा मात्र १० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।

डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा एक/एक जनाको मृत्यु भएको छ। २१ दिनको अवधिमा सवारी दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको देखिएको छ। दर्जनौँको संख्यामा घाइते भएका छन्। दशैंको अवधिमा मात्र ट्राफिक नियम उल्लंघन गरि सवारीसाधन चलाउने दुई हजार ३ सय ८६ सवारी चालक कारबाहीबाट १५ लाख चार हजार राजश्व असुली भएको छ। गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए। विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना सबैभन्दा बढी हुने गरेको छ।

कमेन्ट लोड गर्नुस