सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा जन्मसिद्ध नागरिकका ३१ सन्तानलाई वंशजको नागरिकता

२०७६ वैशाख १७, ०७:४७ खबर संवाददाता

कैलाली र कञ्चनपुरमा यसअघि जन्मसिद्धका आधारमा नागरिकता पाएका आमाबुबाका ३१ सन्तानले वंशजका आधारमा नागरिकता पाएका छन्। गृह मन्त्रालयले चैत १९ मा गरेको परिपत्रका आधारमा कैलाली र कञ्चनपुरमा यसअघि जन्म सिद्धका आधारमा नागरिकता पाएका अभिभावक भएका ३१ जनाले वंशजका आधारमा नागरिकता पाएका हुन्।

 जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी यादव भण्डारीले गृहको परिपत्रपछि विगतमा जन्म सिद्धका आधारमा नागरिकता पाएका आमाबुबा भएका २८ जनालाई वंशजका आधारमा नागरिकता वितरण गरिएको जानकारी दिए। भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालयले १५ पुरुष र १३ महिलाको नागरिकता जारी गरेको हो।

यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पनि तीन जनाले नागरिकता पाएका छन्। गृह मन्त्रालयले गत चैत १९ मा सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता वितरण गर्न परिपत्र गरेको थियो।

गृहले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विद्येयक लामो समयदेखि  सदनमा विचाराधिन रहेको, सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता पाएका सन्तानलाई कानुन बमोजिम नागरिकता दिनु भन्ने आदेश दिएकाले प्रक्रिया पुगाई वंशजको आधारमा नागरिकता वितरण गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको थियो।

गृह मन्त्रालयको परिपत्र विरुद्ध उजुरी परेपछि सर्वोच्च अदालतले बैशाख १३ गते अन्तरिम आदेश जारी गर्दैै तत्कालन नागरिकता वितरणको कार्य रोक्न भनेको छ। गृह मन्त्रालयको उक्त कदमको भने सर्वत्र विरोध र आलोचना भइरहेको छ।  

कमेन्ट लोड गर्नुस