सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाल आरोहणको रोयल्टी दुई महिनामै ५० करोड

। फोटो स्रोत ।
२०७६ वैशाख १७, ०५:२१ खबर संवाददाता

संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ। यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ। पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन्। यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३  आरोही सगरमाथा आरोहणमा निस्किएका छन्।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए। सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ। विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ। यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ। आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताए। यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट ४३ करोड ५२ लाख ५५ हजार ९१२ रुपैयाँ रोयल्टी जम्मा भएको छ।

त्यसैगरी ल्होत्सेका  लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२  र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन्। अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ। पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन्। विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिए। ‘यस पटकको सगरमाथा आरोहण पनि उत्साहजनक हुने देखिएको छ। अहिले केही आरोही क्याम्प तीनतिर पुगिसकेका छन् भने कतिपय आधार शिविरमा छन’, महानिर्देशक घिमिरेले भने।

यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन्। सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन्। त्यस्तै, जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन्।

रोयल्टी बढी उठ्यो

अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ। अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट ४६ करोड रुपैयाँ भन्दा बढी रोयल्टी उठेको थियो। सगरमाथाबाट मात्रै करीब ३४ करोड रुपैयाँ रोयल्टी जम्मा भएको थियो।

संसारका आरोहीको उत्कृष्ट रोजाइमा सगरमाथासहितका हिमाल पर्छन्। त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन्। पर्वतारोहणका लागि आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा आठ हिमाल पर्दछन्।
सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्छ। सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ। रासस
 

कमेन्ट लोड गर्नुस