सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा शृङ्खलाबद्ध रुपमा आफन्तबाटै आफन्तको हत्या, ३९५ विरुद्ध मुद्दा

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक १४, ०१:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा श्रृंखलाबद्ध रुपमा आफन्तबाटै आफन्तको हत्या हुने गरेका घटना सार्वजनिक भइरहेका छन्।

२०८० बैशाख १६ गते धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरे। इँटा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भयो। घरदेखि १५० मिटर टाढा जंगलमा इँटाले टाउकोमा प्रहार गर्दा अर्जुनको घटनास्थलमा नै मृत्यु हुन पुगेको थियो।

जंगलमा इँटाले टाउकोमा हानि हत्या गरेको महेशकुमार आफैंले स्वीकार  गरेका थिए। हत्यामा संलग्न महेशकुमारलाई कैलाली प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। २०७९ माघ १६ गते कैलालीको लम्कीचुहा नगरपालिका–६ बाघमाराका श्रीराम थारुले आफ्नै आमालाई बञ्चरो प्रहार गरी हत्या गरेका  थिए।

४० वर्षका थारुले ७१ वर्षीया आमा लगनीदेवीलाई बञ्चरो प्रहार गरी घाइते बनाएका थिए। आमालाई घाइते बनाएपछि अन्य छोराहरूले आमालाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगेको र त्यहाँ उपचार हुन नसकेपछि नवजीवन अस्पताल धनगढी ल्याउँदै लगनीदेवीको बाटोमै मृत्यु भएको थियो। परिवारले दोस्रोदिन बिहान प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरी टोलीले देउराली सामुदायिक वनमा लुकेर बसेको अवस्थामा श्रीरामलाई पक्राउ गरिएको थियो।

आमालाई बञ्चरो प्रहार गरी घाइते बनाएर भागेका श्रीराम विरुद्ध दाजु रामलाल थारुले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। श्रीरामले पैसा मागेको र नदिएको निहुँमा आमाको खुट्टा र ढाडमा बञ्चरो प्रहार गरी सख्त घाइते बनाएका थिए। मृतक लगनीका ६ छोरामा पाचौं नम्बरका श्रीराम यसअघि आफ्नै दाजुलाई आक्रमण गरेकाले ज्यान मार्ने उद्योगमा जेल सजाय काटेर फर्केका व्यक्ति हुन्।

त्यस्तै, कैलालीमै कात्तिक ११ गते शनिवार पनि अर्को हत्याको घटना भएको छ। जानकी गाउँपालिका–३ को लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको हो। आफ्नै ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले २४ वर्षीय गणेश चौधरीलाई शनिवार राति पक्राउ गरेको छ। आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरिसकेको छ। छोराले बुवा र बुवाले छोराको तथा छोराले आमाको हत्या गरेका यी छुट्टाछुट्टै तीन घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन्। हिजोआज सुदूरपश्चिममा सामान्य विवाद हुँदा पनि घटनाले हत्याको रुप लिने गरेको पाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार गएको तीन वर्षको अवधिमा कर्तव्य ज्यान अन्तर्गत एक सय ६७ मुद्दा दर्ता भएका छन्।

त्यस्तै, ज्यान मार्ने उद्योगमा तीन वर्षमा थप दुई सय २८ मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म मात्र कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत  तीन सय ९५ मुद्दा दर्ता भएको देखिएको छ। प्रदेशभित्र आर्थिक वर्ष २०७७/७८ मा कर्तव्य ज्यानका ७०, आर्थिक वर्ष २०७८/७९ मा ५८ र आर्थिक वर्ष २०७९/८० मा ३७ मुद्दा दर्ता भएको प्रदेश प्रहरीको अभिलेख छ।

यसैगरी, ज्यान मार्ने उद्योगमा २०७७ मा ९२, २०७८ मा ७३ तथा २०७९ मा ६३ मुद्दा दर्ता भएको देखिएको छ। प्रदेशभित्र कतिपय अवस्थामा सामान्य विवादपछि घटनाले उग्ररुप लिँदा हत्यासम्म हुने गरेको देखिएको छ। यस्ता घटनाबाट समाजमा असुरक्षाको वातावरण निर्माण हुन थालेको छ। 

कमेन्ट लोड गर्नुस