सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको चियापान आज

२०८० कार्तिक ११, ०७:५२ खबर संवाददाता

काठमाडौं: कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ।

दशैंतिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन्।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ।बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो।

विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए।  त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन्। कांग्रेसले बडादशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।   

कमेन्ट लोड गर्नुस