सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपराध न्युनिकरणमा खुला सीमालाई दोष देखाएर पन्छिने प्रवृत्ति

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक ९, ०९:४५ खबर संवाददाता

धनगढीः सीमा क्षेत्रबाट हुने अपराध न्युनिकरण गर्न प्रहरी प्रशासनलाई आइपर्ने सधैको चुनौति हो। भारतसँग सुदूरपश्चिम प्रदेशका चार जिल्ला कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला मुख्य सीमानाको रुपमा जोडिएका छन्। सीमा वारि र पारी दुबै देशका नागरिकले दैनिक रुपमा आवतजावत गर्दै आएका छन्। तर ती सीमा क्षेत्रको उचित व्यवस्थापन दुबै देशबाट हुन सकेको छैन्। जसका कारण अपराधका गतिविधि सीमा क्षेत्रबाटै हुने गरेको छ।

खुला सीमालाई दोष देखाएर जिम्मेबारीबाट भाग्नुभन्दा त्यसको व्यवस्थापन गर्न सके सीमा क्षेत्रबाट हुने अपराधलाई कम गर्न सकिने अधिकारीहरु बताउँछन्। कैलालीको सीमाना भारतको उत्तर प्रदेशसँग जोडिएको छ। सीमा वारि–पारिका बासिन्दाको सम्बन्ध ‘राजनीतिक’ भने होइन। राजनीतिक सम्बन्ध राजनीतिक स्वार्थसँग जोडिएको छ। तर, सीमाक्षेत्रका बासिन्दा एक–अर्कामाथि आश्रित छन्।

दुवै देशको सीमानाका बासिन्दाको मनोविज्ञान दुबै देशका सरकारले बुझ्न चाहेका छैनन्। नेपाल र भारत दुवैतिर घर तथा खेती हुने नेपाली नागरिकको संख्या ठूलो छ। यताको नागरिकता बोकेका नेपाली परिवार दुवैतिर बाँडिएर बसेका छन्। नेपालमा व्यापार, खेतीपाती गरेर पुस्तौंदेखि बसेका भारतीय परिवारको संख्या पनि सानो छैन। नेपालमा नै जन्मेको पुस्ताले त हिन्दी बोल्न पनि छोडिसकेको छ।

भारतीय संस्कार बिर्सेर दशैँ, भैलोलगायतका नेपाली संस्कारमा भिजिसकेका छन्। त्यसबाहेक जागिर, अध्ययन, व्यवसाय, र अन्य कामका सिलसिलामा अस्थाई बसोबास गरेका र लगातार दुवैतिर ओहोरदोहोर गर्नेहरु त गन्ती गरेरै साध्य छैन। त्यस्तै, भारत गएर मजदुरी गर्ने र बीचमा छोटो समयका लागि घर आएर खेतिपाती गर्नेहरु हरेक दिन सीमामा लामबद्ध भेटिन्छन्।

दुई–तीन दशकअघिसम्म नेपालीहरु अवसर खोज्दै भारतका केही राज्यमा मात्र पुग्थे। अहिले प्रायः सबै राज्यमा नेपाली भेटिन्छ्न। यी तथ्यले के देखिन्छ भने, नेपाल–भारत आउजाउमा खासै समस्या छैन। सीमाका बासिन्दा पनि मिलेर बसेका छन्।
दुई देशबीचको खुला सीमाको फाइदा उठाएर अपराध पनि हुने गरेको छ। तर सीमा व्यवस्थापन जरुरी देखिएको छ।

अपराध नियन्त्रणमा दुवै देशका सुरक्षा निकायको सहकार्य आवश्यक छ। पुस्तौंदेखी सीमामा बसिरहेका नेपालीको दैनिकी अन्य नेपालीको भन्दा फरक हुन्छ। उनीहरु दैनिक उपभोग्य वस्तु र कृषि सामग्रीमा भारतसँग निर्भर छन्। ती सामानको भन्सार नतिर्ने प्रवृत्ति पनि छ। भन्सारका कर्मचारी र सुरक्षाकर्मीहरुसँग उनीहरुको दैनिक झगडा हुनु सामान्य हो। 

केराउ लगायत खाद्य सामग्री नेपालको माग र आवश्यकताभन्दा बढी आयात हुन्छ। ती सामग्री भारततिर तस्करी हुन्छ। किन र कोबाट आवश्यकताभन्दा बढी आयात हुन्छ भनेर अनुसन्धान गर्नुपर्ने हो। तर सरकारले नै तस्करहरुलाई छुट दिएको छ। यस्तो तस्करीले सीमानामा बसेका बासिन्दालाई अपराध गर्न प्रेरित गरिरहेको छ। शान्ति सुरक्षा र अपराध नियन्त्रणमा लाग्नु पर्ने प्रहरीको बढी समय यस्ता सामानको जाँचमा बित्ने गरेको छ।

गाजा, चरेसको खेती त नेपालमा हुन्थ्यो नै, यी वस्तुको माग भारतमा ठूलो मात्रामा हुने गरेको छ। खेतीका लागि पनि भारतीय अपराधीबाट लगानी हुने गरेको ‘ओपन सेक्रेट’ नै छ। सरकारले अवैध रुपमा हुने खेतीमा नियन्त्रण गरे सीमामा दबाब कम हुन्छ। ठूला अपराधपछि एक अर्काको देशलाई आश्रयस्थलको रुपमा प्रयोग गर्ने गरेका थुप्रै घटनाले प्रमाणित गरेका छन्।

संसारका अधिकांश देशको अर्को देशसँग सीमा जोडिएको हुन्छ। तर, नागरिक तहमा नै एक–अर्कामा निर्भर भएका देश कमै छन्। नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमै छ भन्ने विषय अब कतै प्रमाणित गर्नुपदैन। यो व्यावहारिक सम्बन्ध पनि हो। यो सम्बन्धलाई कायम राखेर अपराध नियन्त्रण गर्नुपर्ने सरोकारवाला बताउँछन्। पछिल्लो समय लागुऔषध, मानव बेचबिखन लगायतका अपराध पनि सीमा क्षेत्रमै बढी हुने गरेको समेत पाइएको छ।

कमेन्ट लोड गर्नुस