सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन्यजन्तु पनि व्यावसायिक रुपमा पाल्न पाइने

२०८० कार्तिक ८, ०९:१० खबर संवाददाता

काठमाडौँः  व्यावसायिक प्रयोजनका लागि बाख्रा र खुकुरा जस्तै वन्यजन्तुलाई पनि फार्म राखेर पाल्न पाइने भएको छ। सरकारले व्यावसायिक प्रयोजनका लागि केही वन्यजन्तु पाल्न सकिने व्यवस्था गरेको छ। यसका लागि वन तथा वातावरण मन्त्रालयले ‘व्यावसायिक रुपमा वन्तजन्तुको पालन, प्रजनन तथा उपयोग सम्बन्धी मापदण्ड, २०८०’ स्वीकृत गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट गत भदौ १८ मा मापदण्ड स्वीकृत भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन, २०७६) को नियमावलीका आधारमा वन्यजन्तु पालन मापदण्ड बनाइएको मन्त्रालयले जनाएको छ।

यो मापदण्डअनुसार, २१ वटा वन्यजन्तु फार्ममा पालेर पाल्न सकिनेछ। उनीहरूलाई बेचविखन पनि गर्न सकिनेछ। स्तनधारी वन्यजन्तु अन्तर्गत लगुना, रतुवा चित्तल, नीलगाई, खरायो (संरक्षित बाहेक), दुम्सी र बँदेल पाल्न पाइनेछ। त्यस्तै, सरिसृप अन्तर्गत सर्प प्रजाति, मगर गोही र कछुवा (संकटापन्न र अति संकटापन्न बाहेक) पाल्न पाइनेछ। पन्छी अन्तर्गत मयुर, कालिज (संरक्षित बाहेक) र लुइँचे वन कुखुरा, बट्टाई, च्याखुरा, तित्रा, पिउरा, ढुकुर, मैना र सुगा पाल्न पाइने मन्त्रालयले जनाएको छ।

वन्यजन्तु पालन गर्न चाहेको संस्थाले पहिला सरकारी रीतअनुसार, संस्था दर्ता गर्नु पर्छ। त्यसपछि संस्थाले वन्यजन्तुको माउ जोडी उपलब्ध गराइ पाउँ भनी वन कार्यालयमा निवेदन दिनुपर्छ। वन्यजन्तु पालनका लागि आवश्यक सबै पूर्वाधार ठीक छ भन्ने निर्क्योल गरेपछि वन कार्यालयले बीउ प्राणी उपलब्ध गराउँछ। वन्यजन्तु पालनका लागि फार्म उचित छ कि छैन भन्ने निर्क्योल राष्ट्रिय निकुञ्ज तथा  वन्यजन्तु संरक्षण विभागको विषेशज्ञ समितिले गर्नेछ। सरकारले उपलब्ध गराएको माउ जोडी अन्यत्र लग्न पाइनेछैन। त्यसबाट जन्मेका बच्चालाई मात्र व्यावसायिक प्रयोजनको लागि उपयोग गर्न पाइने व्यवस्था गरिएको छ। मापदण्डले संकटापन्न अवस्थामा नभएको वन्यजन्तुलाई मात्र पाल्न दिने भन्ने व्यवस्था गरेको छ। –हिमालखबर 

कमेन्ट लोड गर्नुस