सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा वन मन्त्रीको नाम पठाउन नागरिक उन्मुक्तिका सांसदहरूको माग

२०८२ वैशाख ३०, ०७:१५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको वन मन्त्रीको नाम पठाउन नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले माग गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमका संसदीय दलको बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको नाम पठाउन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग माग गरेका हुन्। संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारमा पठाउने मन्त्रीको नाम केन्द्रसँग माग्ने निर्णय गरेको छ। दलका नेता घनश्याम चौधरीले भने, ‘मन्त्रीको नामबारे यही हप्ताभित्र केन्द्रबाट निर्णय दिने अथवा दलको कार्यालयलाई स्वायत्त अधिकार दिने सर्वसम्मत निर्णय गरिएको छ।’

विवादित अडिओका कारण उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्री विहीन छ। आजको संसदीय दलको बैठकले उक्त मन्त्रालयमा कसलाई मन्त्री पठाउने भन्नेबारे निर्णय गर्ने तयारी गरेको थियो। तर, यसअघि नै मन्त्री पठाउने जिम्मा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको भन्दै अब उनीबाटै मन्त्रीको नाम माग्ने संसदीय दलले निर्णय गरेको छ।

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने कुनै निर्णय गरेको भए त्यसबारे पनि जानकारी गराउन संसद दलले निर्णय गरेको छ। नागरिक उन्मुक्तिका संसद दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा सातमध्ये पाँच सांसद उपस्थित थिए। बैठकमा लक्ष्मणकिशोर चौधरी र टीका थापा उपस्थित भएनन्। नीति कार्यक्रम र बजेटको चटारो भइरहेको बेला वन मन्त्रालयमा मन्त्री नहुँदा काम प्रभावित भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीले मन्त्रीको नाम सिफारिस गरेलगत्तै मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए।

संसद दलले केन्द्रबाटै मन्त्रीको नाम माग गरेपछि मन्त्री नियुक्ति अझै लम्बिने देखिएको छ।

 

कमेन्ट लोड गर्नुस