सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगङ्गा नगरपालिकाको १५ बुँदे प्रतिबद्धतापत्र जारी

२०८२ वैशाख ३०, ०५:१० खबर संवाददाता

बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिकाले आफ्नो पालिकाको विकासका लागि १५ बुँदे साझा प्रतिबद्धता पत्र जारी गरेको छ।

समृद्ध बुढीगङ्गा निर्माणका लागि तीन दिनसम्म आयोजना गरिएको ‘समृद्धिको आधारका लागि बुढीगङ्गा विकास कचहरी’बाट आएका निष्कर्षका आधारमा सोमवार साँझ सो प्रतिबद्धता जारी गरिएको हो। ‘विकास कचहरी’मा बाजुराका प्राय सबै दलका नेता, बाजुराका विभिन्न पालिका प्रमुख, उपप्रमुख, विषय विज्ञ, नागरिक समाज, बुद्धिजीवी, कर्मचारी, सरोकारवाला पक्ष र आम नागरिकहरूको बुढीगङ्गाको विकासका लागि सुझाव दिएका थिए। सो प्रतिबद्धता पत्रमा राजनीति पालिकाको समृद्धि र विकासका लागि हुनुपर्ने मूल मन्त्रदेखि लिएर शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण, पर्यटन प्रवर्धन, रोजगारी सिर्जना र लैङ्गिक समावेशी करण लगायतका बहुक्षेत्रीय विषयहरू समेटिएको छ।

बुढीगङ्गा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले प्रतिबद्धता सार्वजनिक गर्दै राजनीतिक दलहरूले बुढीगङ्गा नगरपालिकाको विकासमा एकमत रहेर स्रोत व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने, गुणस्तरीय र प्राविधिक शिक्षाको विस्तार गरी दक्ष जनशक्ति उत्पादनमा जोड, आधुनिक कृषि प्रणाली, पशुपालन र बजार प्रणाली विकास, पाँच वर्षभित्र सबै घरधुरीमा बिजुली र दुई वर्षभित्र धुँवारहित चुलो पुर्याउने योजना समेटिएको बताए।

यस्तै, नदीजन्य र खानीजन्य स्रोतको सदुपयोग र वैज्ञानिक वन व्यवस्थापन, १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरेर स्वास्थ्य बिमा र मानसिक स्वास्थ्य कार्यक्रम धार्मिक–ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन, भवन संहिता कार्यान्वयन, नवनिर्माण संरचना बालमैत्री र भूकम्प प्रतिरोधी, सभाहल, पार्किङ, खेलमैदान, सडक स्तरोन्नति लगायत सार्वजनिक संरचना विस्तार, इन्टरनेट विस्तार, सेवा प्रवाहमा अनलाइन प्रणालीको उपयोग, एक वर्षमा डिजिटल गुनासो सुनुवाइ र पाँच वर्षभित्र एसएमएसमा आधारित सूचना सेवा सुरु गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।

प्रतिबद्धता पत्रमा सामाजिक समावेशीकरण र सशक्तीकरणका लागि कोष स्थापना, सहकारी संस्थाहरूको व्यवस्थापन र नियमन, साना मझौला उद्योग प्रवर्धन, सीप विकास केन्द्र विस्तार, स्वच्छता र फोहोरमैला व्यवस्थापनलाई सशक्त बनाउँदै पूर्ण सरसफाइयुक्त नगर बनाउने कुरा पनि समेटिएको छ। सो अवसरमा बोल्दै नगर प्रमुख बानियाँले बुढीगङ्गाको समृद्धि अब भाषणको विषय मात्र होइन, साझा सङ्कल्पको दिशामा अगाडि बढ्न सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।

१५ बुँदे प्रतिबद्धतापत्रले बुढीगङ्गा नगरपालिकालाई समृद्धि र सुशासनतर्फ लैजाने स्पष्ट मार्गचित्र तयार भएको अधिकांश राजनीतिज्ञ र विषय विज्ञले बताएका छन्। बाजुराबाट ०४८ र ०६४ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित पूर्व प्रदेश प्रमुख देवराज जोशीले विकासका लागि सबै दल एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए।

एमालेका स्थायी कमिटी सदस्य तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले लोकप्रियताका लागि नभएर आफ्नो सामर्थ्यका आधारमा सबै दललाई साथमा लिएर पालिकाको विकासका लागि लाग्नुपर्ने बताए।

 

कमेन्ट लोड गर्नुस