सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री दाहालद्धारा शुभकामना सन्देश

२०८० कार्तिक ७, ०८:०२ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्वपूर्ण रहेको बताए। “नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले भनेका छन्।

प्रधानमन्त्री दाहालले विजयादशमीको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन्।
 

कमेन्ट लोड गर्नुस