सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंको रौनकताः गाउँघर गुल्जार, सदरमुकाम सुनसान

२०८० कार्तिक ५, १२:३० खबर संवाददाता

‘ती पल्ला घरे लाहुरे दाइले
कोसेली बाँड्दैछन्
लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै
भित्र र बाहिर गर्दैछिन्...’

धनगढीः चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दशैँमा उत्तिकै गुन्जिन्छ। १८ वर्षअघि बनेको ‘मुग्लान’ चलचित्रको यो गीत दशैँमा गुन्जिने लोकप्रिय गीत पनि हो। रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा शुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशैँ। अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दशैँ घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो।

अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको ओहिरो लाग्छ। यसरी दशैँ घर फर्किने चाडका रुपमा स्थापित भयो। दशैँ नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन्। मुगलानबाट लाहुरे दशैँमै घर फर्किन्छ। सुनसान गाउँ गुल्जार बन्छ। निरस अनुहार उज्यालिन्छ। दशैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ।

दशैँ गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो। दशैंलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ। रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दशैँमा गाउँघर भरिभराउ हुन्छन्। यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दशैँ स्थापित भएको छ।

यस वर्षको दशैँ शुरु भएसँगै सुदूरपश्चिमका गाउँघरहरुमा दशैँको रौनकता पनि शुरु भइसकेको छ। दशैंका लागि तराईबाट पहाड जानेको संख्या पनि अत्यधिक बढेको छ। अहिले तराईबाट पहाडका गाडीमा भिड लागेको छ। मूलघर पहाड भई तराई बसाईसरेकाहरु पनि दशैंको समयमा पूजापाठका लागि पहाड पुग्ने गरेका छन्।

तराईबाट पहाड जाने यात्रुको संख्या बढेसंगै सवारीसाधनको चाप पनि बढेको हो। अन्य समयमा सुनसान हुने गाउँहरु हिजोआज गुल्जार भएका छन्। गाउँमा दशैंको रौनक छाएको छ। पढाइका लागि जिल्ला बाहिर रहेकाहरु पनि घर फर्किन थालेका छन्। रोजगारीका लागि भारतमा रहेका नेपालीहरु घर फर्किने क्रम पनि बढेको छ।
सदरमुकाम सुनसान
गाउँमा चहलपल बढेका बेला जिल्लाका सदरमुकाम क्षेत्र भने सुनसान बनेका छन्। दशैंको समयमा काम विशेषले बाहिर रहेकाहरु पनि घर फर्किसकेका छन् भने कर्मचारीहरु पनि गाउँ फर्केका छन्। दशैंको चहलपहल बढेसंगै धनगढी, महेन्द्रनगर, टीकापुर लगायतका सहरी क्षेत्र एवं जिल्ला सदरमुकाम भने सुनसान बनेका छन्। अधिकांश कर्मचारीहरु दशैका लागि घरतिर हिँडेपछि सदरमुकाम सुनसान बनेको हो। 
सुदूरका गाउँघरमा रौनकता
हिन्दुहरुको महान चाड दशैंमा सुदूरका गाउघरमा रौनकता छाएको छ। पढाई तथा रोजगारीको लागि घरबाहिर रहेकाहरु पनि गाउँमा आएपछि रौनकता छाएको हो। घरबाहिर रहेकाहरु गाउँघरमा फर्किएसँगै स्थानीय बजारहरुमा पनि किनमेल गर्नेको भिडभाड बढेको छ। घटस्थापनादेखि सुदूरका शक्तीपिठहरुमा पनि भक्तजनहरुको भिड लागेको छ। बसाइसरेर गएकाहरु पनि दशैंको बेला पाठपुजाका लागि गाँउ पुगेका छन्।
शक्तिपिठहरुमा घुइँचो
हिन्दूहरुको ठूलो चाड दशैंको अवसरमा यहाँका विभिन्न शक्तिपिठहरुमा भक्तजनको घुइँचो लागेको छ। प्रसिद्घ निङ्गलाशैंनी भगवती मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, पाटनमा रहेको उदयदेव मन्दिर, त्रिपुरामा रहेको त्रिपुरा सुन्दरी मन्दिर, पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार लगायतका दर्जनौं मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुइँचो लागेको छ।

कमेन्ट लोड गर्नुस