सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल सरकारी गाडीको दोहन गर्दै

२०८३ असार १३, ०४:२७ खबर संवाददाता

धनगढीः नेकपा एमालेका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य राजेन्द्रसिंह रावलले सरकारी गाडीको दुरुपयोग गर्दै आएको तथ्य सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलले प्रयोग गर्दै आएको सरकारी गाडी बिहीबार धनगढीमा नालामा खसेपछि उक्त विषय बाहिर आएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि बिहीबार रावल आफैंले चलाइरहेको सरकारी गाडी सडकको विपरीत दिशातर्फ गई नालामा खसेको थियो। उक्त गाडी सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको नाममा दर्ता रहेको प्रदेश ०१–००१ झ ३१४ नम्बरको रहेको बताइएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार उक्त गाडी रावलले २०८१ सालदेखि प्रयोग गर्दै आएका छन्। प्रदेश सरकारले आयोजना गर्ने भनिएको लगानी सम्मेलनका लागि उनलाई गाडी प्रयोग गर्न दिइएको मन्त्रालयको भनाइ छ। तर, पूर्वमुख्यमन्त्रीलाई राज्यकोषबाट गाडी सुविधा दिने कुनै कानुनी व्यवस्था छैन।

रावल नेकपा एमालेको संसदीय दलका नेता भए पनि सत्तापक्षमा नरहेको दलका नेतालाई गाडी सुविधा दिने व्यवस्था नरहेको स्पष्ट छ। त्यसका बाबजुद पनि प्रदेश सरकारले गैरकानुनी रूपमा उनलाई गाडी सुविधा दिएको पाइएको छ।

गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालय तथा कार्यालयका सरकारी गाडी आन्दोलनकारीले जलाएका थिए। ती गाडी जलेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले रावलसँग रहेको गाडी फिर्ता मागेको थियो। मन्त्रालय स्रोतका अनुसार पटक–पटक ताकेता गर्दा पनि रावलले गाडी फिर्ता नगरेको दाबी गरिएको छ।

यता, पूर्वमुख्यमन्त्री रावलले भने आफूलाई मुख्यमन्त्रीले लगानी सम्मेलनका लागि सरकारी गाडी उपपलब्ध गराएको बताएका छन्। उनले सुविधाको गाडी नभएर आफूलाई लगानी सम्मेलनको सचिवालयबाट मुख्यमन्त्रीले गाडी उपलब्ध गराएको स्पष्ट पारेका छन्।

सरकारी गाडीको अभाव भएपछि मुख्यमन्त्री कार्यालयले पहाडी जिल्लामा रहेका प्रदेश मातहतका २३ वटा कार्यालयका गाडी तानेको थियो। हाल ती सरकारी कार्यालयहरू भाडाका गाडी प्रयोग गर्न बाध्य छन्।

कमेन्ट लोड गर्नुस