सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १४ गते महासचिव गुटरेसले नेपालको सङ्घीय संसदको दुवै सदनको सम्बोधन गर्ने

२०८० कार्तिक ३, ०४:२७ खबर संवाददाता

काठमाडौंः  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आउने भएका छन्। गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रिीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो।

नेपाल बसाईको क्रममा उनले नेपालको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्तिक २ गते सङ्घीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीेले बताए।

उनले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई सुरु गरिसकेको बताए। महासचिव गुटेरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ। प्रवक्ता गिरीले कार्तिक १२ गतेको बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने र राष्ट्रिय सभाका लागि सूचना जारी गर्न सकिने बताए।
 

कमेन्ट लोड गर्नुस