क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ

काठमाडौँः क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको स्कारपियो जिपले बिहीबार राति दाङको राप्ति गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ति गाउँपालिकाका २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बिहीबार राति काठमाडौंबाट सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले करिब पौने १० बजेतिर रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते भएका थिए।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी केसीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि लगिएकोमा लमही स्थित अस्पतालमा निधन भएको केसीले जानकारी दिए। स्कारपियो चालक बास्तोलालाई भालुवाङस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा राखेको एसपी केसीले जानकारी दिए। बास्तोलामाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।
.gif)


