महाकाली करिडोरबाट समृद्धिको अपेक्षा धेरै, कहिले निर्माण पुरा हुने छैन टुंगो
धनगढीः भारत र चीनसँग नाका जोड्ने महत्वपूर्ण रणनीतिक सडक महाकाली करिडोरको निर्माण कहिले पुरा हुन्छ कुनै टुंगो छैन्। कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिंकर हुँदै चीनको ताक्लाकोट जोड्ने यसको लक्ष्य हो।
उत्तर र दक्षिणका ‘शक्तिशाली छिमेकी’ सँग जोडिएर सुदूरपश्चिममा समृद्धिको ढोका खोल्ने रणनीतिक सडकका रूपमा महाकाली करिडोरलाई लिने गरिएको छ। नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण कार्य रूख काट्ने प्रक्रियामै लामो समय अल्झिन पुगेको हो।
राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि पर्याप्त बजेट र वन क्षेत्रमा पर्ने रूख कटानी समयमै हुन नसक्दा सन्तोषजनक काम हुन सकेको छैन्। २०६६ सालदेखि सुरु भएको करिडोर निर्माणको काम कछुवा गतिमा छ। यो सडक कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म ४२५ किलोमिटर लम्बाइको छ।
जसमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निमार्ण गरिरहेको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका कार्यालयका प्रमुख लक्ष्मण दत्त जोशीले बताए। उनले कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको ११ किलोमिटर सडकको रुख कटानीको आदेश आएको बताए। उनका अनुसार डडेलधुरामा पर्ने ५८ किलोमिटर सडकमध्ये २७ किलोमिटर सडकको मात्रै ट्रयाक खुलेको छ।
त्यस्तै बैतडी जिल्लामा पर्ने १४४ किलोमिटर सडकमध्ये ९२ किलोमिटर सडक बनेको छ भने ५२ किलोमिटर सडकको ट्रयाक खुल्न सकेको छैन। दार्चुलामा पर्ने २१२ किलोमिटर सडकमध्ये ९६ किलोमिटरको मात्रै सडक बनेको छ। बाकी ११६ किलोमिटर सडकको ट्रयाक खुल्न सकेको छैन। दिवा–शनिदेव जेभीसँग गत वर्ष असारमा पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि रुख कटानको आदेश नहुँदा काम अघि बढ्न सकेन।
आयोजनाको २०८०/८१ भित्र ट्रयाक खोलिसक्नुपर्ने लक्ष्य छ। आयोजनाका लागि गत वर्ष ७९ करोड ४२ लाख रकम विनियोजना भएको र चालु आवमा ४१ करोडमात्रै बजेट विनियोजन भएको आयोजना प्रमुख जोशीले बताए। करिडोर बनेपछि ब्रहमदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पन्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलंगा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुदै तिंकर नाका सम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।