सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँगे्रसका केदार कार्कीलाई कोसीको मुख्यमन्त्री बनाउन एमालेको समर्थन

२०८० असोज २५, ०६:०७ खबर संवाददाता

कोसी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसका केदार कार्कीलाई बनाउन नेकपा एमालेले समर्थन दिएको छ। नेपाली कांग्रेसको संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर कार्कीलाई मुख्यमन्त्री बन्ने इच्छामा प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले साथ दिएको हो।

कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यसहित एमालेका सांसदहरू मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ लागेका छन्। एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले मुख्यमन्त्रीमा कार्कीलाई साथ दिएको बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो।

गठबन्धनको बिहीबार काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्रीमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई बनाउने निर्णय गरेको थियो। तर,कांग्रेसकै संस्थापनइतरले एमालेको साथ लिएर मुख्यमन्त्रीमा दाबी गर्न लागेको हो। कांग्रेसको इतर पक्ष केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने अडानमा थियो। कार्कीलाई इतर समूहका सांसदहरु शमशेर राई, रामकुमार खत्री, लीला राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनीता गुरुङले साथ दिएका छन्।

कांग्रेसको इतर समूहले आङ्बोलाई स्वीकार नगरेपछि कोसीमा गठबन्धनको सरकार बन्ने सम्भावना लगभग सकिएको छ। कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ। गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी जसपाका १ जना प्रदेशसभा सदस्य छन्।  एमालेका उपसभामुखसहित ४० र राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन्।
 

कमेन्ट लोड गर्नुस