सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालन

। फोटो स्रोत ।
२०७६ वैशाख १५, ०२:२६ खबर संवाददाता

सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ पनि संचालनमा ल्याएको छ। 
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ सेवाको शुभारम्भ गरेको हो। राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको यो अनलाइन डाटा पोर्टलको नाम डब्लु डब्लु डब्लु डट नेशनलडाटा डट जीओभी डट एनपी (http://www.nationaldata.gov.np/) राखिएको छ।

संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाइन सेवामार्फत् सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न पनि यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको यो अनलाइन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यमा पनि रहेको छ। गएको मंसीर २१ गते बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले तथ्यमा आधारित तथ्यांक संकलनका लागि आवश्यक पोर्टलको व्यवस्था गर्न निर्देशन दिएको थियो। यही निर्देशन अनुसार यो अनलाईन पोर्टल संचालनमा ल्याइएको पनि केन्द्रीय तथ्यांक विभागका महानिर्देशक अर्यालले बताए।

कमेन्ट लोड गर्नुस