सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ७ जना विद्यार्थीको मृत्यु

२०८० असोज २२, १०:०० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ७ विद्यार्थीको मृत्यु भएको छ।

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परेर सुदूरपश्चिमबाट गएका ७ नेपाली विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ। मृत्यु हुने सबै छात्र हुन्। इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरेर मृत्यु भएको पुष्टि गरेको छ।

तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये सुदूरपश्चिमका ७ जनाको मृत्यु भएको हो। एक जना बेपत्ता छन्। घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सकुशल छन्। मृतकको शव नेपाल पठाउनका लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको नेपाली दूतावासले जनाएको छ।

‘सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य जारी छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ। मृत्यु हुनेका नाम भने दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छैन। दूतावास स्रोतका अनुसार मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी नगरपालिका–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन्।

स्थानीय अस्पतालमा टीकापुर–९ कैलालीका धनबहादुर चौधरीको उपचार भइरहेको छ। साथै भीमदत्त नगरपालिका–३ कञ्चनपुरका विपिन जोशी बेपत्ता छन भने त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी भजनी सुरक्षित छन्। ती विद्यार्थीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए। उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।

सो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरू पठाएको थियो। जसमध्ये ११ जना छात्रा छन्। उनीहरू बसेको क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ। ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो।

३२ जना कृषि विद्यार्थीहरू भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन्। परराष्ट्रमन्त्री एनपी साउदले प्रतिनिधिसभाको आइतबारको बैठकमा सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएको बताएका थिए। परराष्ट्रमन्त्री साउदले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किवुज अलुमिन भन्ने स्थानमा अध्ययनरत हुन्।’ अहिलेसम्म कुल १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पृष्टि भएको छ।

कमेन्ट लोड गर्नुस