इजरायलमा सुप विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीको विषयमा यसो भन्छन् परराष्ट्रमन्त्री एनपी साउद
काठमाडौँः परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीमध्ये केही व्यक्ति हताहत भएको आशंका गरेका छन्। उनले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको जानकारी संसद्लाई दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकलाई इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्दार गर्नका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए। ‘इजरायलमा सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए,’ उनले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत रहेका थिए।
नेपाली राजदूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरूमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचामलन गरिएको छ।’
इजरायलको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका नेपालको उद्दारलगायतका विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बिहान बैठक बसी संयन्त्र स्थापना गरिएको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए। ’प्रधानमन्त्री दाहालको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ।
यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचालन गरी उद्धार गर्नका लागि आवश्यक निर्णय लिनेछ,’ उनले भने। इजरायलमा रहेका नेपालीको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि मन्त्री साउदले बताए।