कैलालीमा १ सय १३ क्यु फिट काठ सहित एक जना पक्राउ

धनगढीः कैलालीमा काठसहित एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–८ का दोर्जे शाही ३०.७५ क्यु फिट चिरान काठ र ८३ क्यु फिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।
उनले पालिकाको–८ नम्बर आम फाटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योग भित्रबाट काँचो सालका ९ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरा शनिवार नियन्त्रणमा लिएको छ।
शाहीले शुक्रवार राती लठुवा सामुदायिक वनबाट उक्त परिमाणका काठहरू ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी सहित उनको फर्निचर उद्योगमा पुगेको थियो। पक्राउ परेका शाहीलाई जिल्ला चलान गरिएको छ। उनलाई वन ऐन २०७६ अनुसार कारबाही हुने डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताएका छन्।



