धनगढी विमानस्थलमा रुन मन लाग्यो

जनक रसिक-व्यक्तिगत कामले धनगढी विमानस्थल पुगेको थिए। त्यही बेला नेकपा सुदूरपश्चिमका शीर्ष नेताहरू काठमाडौंबाट आउदै रहेछन्। विमानस्थलमा उनलाई स्वागत गर्न पुगेका लस्कर देख्दा रीस उठेन बहुत मन दुख्यो। स्वागतका लागि पुगेकामा मूख्यमन्त्री बाहेक प्रदेश सरकारका सबै मन्त्रीहरू, दुई दर्जन जति प्रदेश सभा सदस्यहरु, पार्टीका नेता कार्यकर्ता र केही आस्थावान पत्रकारहरू थिए। थप चार भ्यान प्रहरी सुरक्षाकर्मीहरू। लामबद्ध मन्त्री, सासंद र नेता कार्यकर्ताका हातमा ठूलठूला मालाहरू थिए। जव आगन्तुक शीर्ष नेताहरू प्लेनबाट बाहिर निस्के मन्त्रीहरू तछाडमछाड गर्दै अघि बढे र माला लगाए। त्यसपछी लामबद्ध इमान्दार प्रदेश सभा सदस्यहरूले, त्यसपछी अन्य नेताकार्यकर्ताहरूले माला लगाए। माला पहिरिनेहरूका अनुहार मालाको चाङले थिचिए।
विमानस्थलबाट बाहिरिए पछी शीर्ष नेताहरूलाई बीचमा पारेर दुई दर्जन बढी लक्जरियस सवारीका लस्कर धनगढीतिर हुइकिए। मलाई लाग्यो यो कस्तो संस्कार बिकास भईरहे छ? शिर्ष नेताको स्वागतमा केही नेताकार्यकर्ता पुग्नु स्वभाविक हो तर सिंगै क्याविनेट र त्यत्रोविधी सासंद विमानस्थल सम्मै पुग्नुपर्ने कारण के थियो ? स्वागतमा आएका सबैका नाम नेताहरूले याद गरिराख्छन होला र? स्वागत गर्न नआइदिए नेताहरू रिसाउछन होला र ? के यो चाकडीको निर्लज्ज उदाहरण हैन? यस्ता परिपाटीले त बिनाकारण शीर्ष नेताहरूको छवि धमिलिने भो।
उता काम विशेषले आएका सर्वसाधारणले मन्त्री भेट्न घण्टौं कुर्नुपर्छ मन्त्रालयमा र पनि भेट्ने मौका पाउदैनन्। मन्त्री भने निर्लज्ज भएर बिनाकाम मन्त्रालय छोडेर सर्लक्क बाहिर निस्किन्छन्। अर्को कुरा विमानस्थल सम्म आफ्नै इन्धन र आफ्नै व्यक्तिगत खर्चले कोही पनि गएनन् होला, त्यो कुनै न कुनै मन्त्रालयको खर्चमा जोडियो होला। उनीहरू पक्कै कुनै सुविधा सम्पन्न होटेलमा बसे होलान, लस्करका सबैले संगै खाना खाए होलान्, त्यो सबै खर्चको वन्दोबस्त कुनै न कुनै तरिकाले राज्य स्रोतबाटै भयो होला।
यो घटना एक प्रतिनिधि उदाहरण मात्रै हो। यहां हप्तैपिच्छे कुनै न कुनै दलका कोही न कोही शीर्ष नेताहरू आउछन् राज्य व्यवस्थाको भद्दा मजाक उडाएर यसै गरी चाकडीको निर्लज्ज नौटंकी देखाइन्छ। विधान र लिखित शासन व्यवस्था फेरिएर के गर्नू, संस्कार त झन झन पुरातन युगतिर फर्कदैछ। यो संस्कारले देश कैले उभो लाग्ला? बेकार छन् समृद्धीका नारा!!



