कैलालीमा सरकारी गाडीको चरम दुरुपयोग, ८ गाडी प्रहरी नियन्त्रणमा
धनगढीः सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको कैलालीमा दुरुपयोग बढ्दै गएको छ।
जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका हुन्। विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन्। तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन।
आज (शनिबार) मात्र कैलालीका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ८ वटा गाडी नियन्त्रणमा लिएको छ।
शनिबार सरकारी गाडी व्यक्तिगत कामका लागि धेरै चलेको स्थानीयले बताएका छन्। कतिपय सरकारी कामका बेलासमेत कर्मचारीले साधन नपाउने गरेको गुनासो उस्तै छ। तर कैलालीमा कतिपय अध्यक्षहरूले लिएका बाइकहरू कहाँ छन् कुनै पत्तो छैन। कर्मचारीले खोजीनिती गरे दबाब आउँछ,’ एक कर्मचारीले भने, ‘कसै–कसैले त ससुराली जाँदासमेत बाइक छोड्दैनन्।
सरकारी साधनको दुरुपयोग भएको देख्दा स्थानीयसमेत दिक्क भएका छन्। सार्वजनिक बिदा र शनिबार सरकारी गाडीहरू चलाउन नपाइने भए पनि त्यसलाई निगरानी गर्न सकिएको छैन्। सार्वजनिक खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा यसअघि नै कडाइ गरेको थियो। सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ।
सरकारी कामबाहेक शनिबारको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियमको सरोकारवालाले नै उल्लंघन गरेका छन्। अति आवश्यक कामका लागि प्रशासन कार्यालयको अनुमतिले मात्र सरकारी कामका लागि सञ्चालन गर्न पाउने व्यवस्थाविपरीत कार्य हुने गरेको छ। तर शनिबार कैलालीको धनगढीबाट मात्र चारवटा सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
क्रान्तिकारी युवा संगठन नेपाल, कैलालीले मात्र आज बिदाको दिन अछाम जिल्ला खानेपानी कार्यालय र पहलमानपुर डिभिजन बन कार्यालयको गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कैलालीलाई हस्तान्तरण गरेको छ। जिल्लाका विभिन्न स्थानबाट गरी ८ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।