सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथामा वर्षौंदेखि थन्किएका मानव शव संकलन गरिदै

२०७६ वैशाख १४, ०४:३४

सर्वोच्च शिखर सगरमाथामा वर्षौंदेखि थन्किएका मानव शव ल्याउन अभियान थालिएको छ। पर्यटन विभागले स्थानीय तहसँगै निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथामा रहेका शव ल्याउन पहल शुरु गरेको हो। वैशाख १ गते लुक्लाबाट शुरु भएको सरसफाई अभियान सगरमाथा आधारशिविर हुँदै सगरमाथाको शिखरसम्म नै पुग्ने र सगरमाथामा भेटिएका शवहरु संकलन गरेर व्यवस्थापन गरिने पर्यटन बिभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।सगरमाथा आरोहणका क्रममा बाटो आसपासमै शव देखिने सगरमाथा आरोहीहरु बताउँछन्।

सगरमाथा क्षेत्रमा सन् २०११ देखि नै सरसफाई अभियान चलाएका सगरमाथा आरोही पिके शेर्पा भन्छन्, ‘बाटोमा पनि शव देखिन्छ, केही सडेर टुक्रा छन, हिउँमा परेकाहरु सग्लै हुन्छन्।’ उनी सहितको टोलीले सगरमाथाबाट पाँचवटा शव ल्याएर व्यवस्थापन गरिसकेको छ। धेरै पटक सगरमाथा चढेको रेकर्ड बनाएका कामीरिता शेर्पा पनि बाटोमा पुराना शव देखिने बताएछन्। कतिपय अप्ठ्यारा ठाउँमा रहेका र कतिपय बाटो नजिक पनि देखिएको उनको भनाई छ। सगरमाथामा बाटो बनाउने क्रममा पुराना शवहरुलाई संकेतका रुपमा बुझेर बाटो बनाउने गरेको समेत संलग्नहरु बताउँछन्। 

पछिल्ला वर्षहरुमा सगरमाथामा ज्यान गुमाउनेहरुको संख्या घटेको छ। तालिमप्राप्त आरोही तथा आरोहण सहयोगी, उपकरण, कपडा लगायतको व्यवस्थाका कारण ज्यान गुमाउनेहरुको संख्यामा कमी आएको आरोही कामीरिता शेर्पाले बताए। अनि पछिल्ला वर्षहरुमा सगरमाथामा ज्यान गुमाउने धेरैजसोको शव ल्याउने गरिएको छ। धेरै वर्ष पहिले उपकरणको अभाव र उपकरणहरु अनुकूल नबन्दा शव ल्याउन नसकेको र उतै छाडेको आरोहीहरु बताउँछन्।तिनै पुराना शव सगरमाथाको हिउँ पग्लिएर सतहमा आएको आरोहीहरुको भनाई छ । आरोही पीके शेर्पा पछिल्लो दशकमा सगरमाथामा हिउँको मात्रा निकै घटेको र हिउँ पग्लिने क्रम निकै तीव्र बनेको बताए।

हिउँ जोगाउँ अभियानका साथ सातवटै महादेशका अग्ला चुचुरा चढ्ने अभियानमा १४ वर्षीय छोरालाई समेत लिएर अभियान शुरु गरेका पीके शेर्पाले हिउँ पग्लिएकै कारण हिउँले थिचिएका पुराना शव सतहमा देखिन थालेको बताए।आरोहण व्यवसाय सञ्चालन गरिरहेकाहरु सगरमाथामा सतहमा देखिएका शवलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्। त्यहाँका शव जसरी पनि व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाई छ। हिउँमा मानिस मरेपछि चिसोले निकै गह्रुगो हुने शव संकलनमा सहभागी भएकाहरुले बताए। एउटा शव झिक्न शव रहेको स्थानको प्रकृति हेरेर ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च लाग्ने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। खर्च अभावका कारणले र मौसमले पनि साथ नदिंदा पनि धेरै जसो शव उतै रोकिने उनले बताए। 

पर्यटन विभागका अनुसार सन् १९५३ मा सगरमाथाको सफल आरोहण पछिका ६६ वर्षमा कुल ४८०० जनाले सगरमाथाको शिखर चुमेका छन्। यस्तै सगरमाथामा अहिलेसम्म २ सय ७९ जनाले ज्यान गुमाएको पर्यटन विभागको तथ्याङ्क छ। ज्यान गुमाएका २ सय ७९ जनामध्ये धेरैजसोको शव ल्याएको पर्यटन विभागको दाबी भए पनि यकिन तथ्याङ्क छैन। पुराना आरोहीहरु भने झण्डै एक तिहाई शव सगरमाथा क्षेत्रमै थन्किएको हुन सक्ने दाबी गर्छन। 

सगरमाथामा विशेष रुपमा शवको खोजी गर्ने र भेटेजति सबै ल्याएर व्यवस्थापन गर्ने पर्यटन बिभागका महानिर्देशक डण्डुराज घिमिरे बताए। दक्ष आरोहीहरुलाई खटाइएको र खर्चको कुनै अभाव नभएकोले मौसमले साथ दिएसम्म शव ल्याउने उनको भनाई छ। 

उनले भने, सगरमाथाबाट शव सग्लो वा टुक्रा जे भए पनि संकलन गरेर ल्याएपछि शवको पोष्टमार्टम तथा डीएनए परीक्षण गरिन्छ। शव पहिचान भए पनि आफन्तले जिम्मा लिएका आफन्तलाई हस्तान्तरण गर्ने र जिम्मा नलिए वा पहिचान हुन नसकेमा मुचुल्का बनाएर कानुनी प्रक्रिया पूरा गरी दाहसंस्कार गर्ने पर्यटन विभागका महानिर्देशक घिमिरेले बताए। साभार - उज्यालोअनलाइन

कमेन्ट लोड गर्नुस