सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा विद्युतीय पूर्वाधार विस्तार हुँदै

२०८० असोज १४, ०१:४४ खबर संवाददाता

धनगढीः नेपाल विद्युत् प्राधिकरणले कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सन्जाल विस्तार गर्ने भएको छ।

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण र विस्तार गर्नेछ। दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिनेछ। गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायत सहरी क्षेत्रमा न्युन भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताहरुको गुनासो छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले यसअघि कैलाली कञ्चनपुर क्षेत्रको स्थलगत अनुगमन गरी विद्युत् आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ। टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरुलाई विद्युत् आपूर्ति सुधारका सम्पूर्ण काम पूरा गर्न निर्देशन नै दिएका थिए।

साथै सुदूरपश्चिमका जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम गर्नसमेत निर्देशन दिइएको थियो। कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका लागि टोली बनाएर अध्ययन भइरहेको बताए।

‘३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनुपरेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायत समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण अघि बढेको,’ घिसिङले भने, ‘कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौं।

१३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैन।’ उनले सेती र महाकाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए। लमही–छिन्चु, छिन्चु–दोदोधारा, दोदोधारा–नयाँ अत्तरिया (दैजी) ४०० केभी प्रसारण लाइन अध्ययनका क्रममा छन्।

कमेन्ट लोड गर्नुस