घरेलु हिंसाका घटनामा कैलाली ‘टप’, यस्तो छ जिल्लागत विवरण
धनगढीः सुदूरपश्चिमका नौ जिल्ला मध्ये घरेलु हिंसाका हिसाबले कैलाली, कञ्चनपुर र बझाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो रहेको पाइएको छ। त्यस्तै, डोटी, बैतडी र अछाम जिल्लामा घरेलु हिंसाका घटना कम हुने गरेको सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ। कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा प्रहरीमा घरेलु हिंसाका १३३ उजुरी दर्ता भएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा उजुरीको संख्या बढेर ५१३ पुगेको छ।
दुई वर्षमा जिल्लामा ६४६ घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन्। कैलाली जिल्ला घरेलु हिंसाका घटनामा पहिलो नम्बरमा परेको छ। त्यस्तै, दोस्रो बढी घरेलु हिंसाका उजुरी कञ्चनपुरमा परेका छन्। आर्थिक वर्ष २०७७/७८ मा प्रहरीमा घरेलु हिंसाका २९२ उजुरी परेको कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ मा ३३३ उजुरी प्रहरीमा परेका छन्। दुई वर्षमा कञ्चनपुरमा ६२५ घरेलु हिंसाका घटाना भएको प्रहरी तथ्याङ्कले देखाएको छ।
तेस्रो बढी घरेलु हिंसा बझाङमा हुने गरेको तथ्याङ्कले देखाएको छ। बझाङमा आर्थिक वर्ष २०७७/७८ मा ३१२ र आर्थिक वर्ष २०७८/७९ मा २३२ सहित दुई वर्षमा ५४४ घरेलु हिंसाका घटना घटेको प्रहरीमा दर्ता भएको उजुरीले देखाएको छ। दार्चुलामा दुई वर्षमा १२० घरेलु हिंसाका घटना घटेको पाइएको छ। आर्थिक वर्ष २०७७/७८ मा ४३ र आर्थिक वर्ष २०७८/७९ मा ७७ उजुरी प्रहरीमा परेका छन्।
डडेलधुरामा दुई वर्षमा ११३ घरेलु हिंसाका घटना भएकामा आर्थिक वर्ष २०७७/७८ मा ५३ र आर्थिक वर्ष २०७८/७९ मा ६० उजुरी प्रहरीमा दर्ता भएका छन्। बाजुरामा दुई वर्षमा १०५ घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ६५ उजुरी आएकामा आर्थिक वर्ष २०७८/७९ मा ४० उजुरी परेका छन्। घरेलु हिंसाका घटना सबैभन्दा कम हुने जिल्ला डोटीमा दुई वर्षमा ५० उजुरी प्रहरीमा परेका छन्।
आर्थिक वर्ष २०७७/७८ मा २० र गत आर्थिक वर्षमा ३० उजुरी प्रहरी कार्यालयमा दर्ता भएको तथ्याङ्कले देखाएको छ। यसैगरी दोस्रो कम घरेलु हिंसा हुने जिल्ला बैतडी रहेको पाइएको छ। बैतडीमा दुई वर्षमा ५२ घरेलु हिँसा पीडितका उजुरी प्रहरीमा दर्ता गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ३५ र गत आर्थिक वर्षमा १७ उजुरी प्रहरीमा परेका छन्। अछाम जिल्लामा दुई वर्षमा घरेलु हिंसाका ८५ उजुरी प्रहरीमा परेको पाइएको छ।
आर्थिक वर्ष २०७७/७८ मा ५७ र आर्थिक वर्ष २०७८/७९ मा अछाम जिल्ला प्रहरीमा २८ वटा घरेलु हिंसाका उजुरी परेको प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। प्रदेशभर उजुरी मार्फत प्रहरीमा आएका घरेलु हिंसाका घटनामा अधिकांशमा मिलापत्र गराइएको छ।
आर्थिक वर्ष २०७७/७८ मा परेका एक हजार १० उजुरी मध्ये ९७९ उजुरीमा मिलापत्र भएको छ भने १४ उजुरी अन्य निकायमा सारिएको, १२ उजुरी कार्यान्वयन हुन बाँकी र ५ उजुरीमा अदालतमा मुद्दा दर्ता गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा परेका घरेलु हिंसाका एक हजार ३३० निवेदनमा एक हजार २४२ मा मिलापत्र गरेर समाधान गरिएको छ भने ३७ उजुरी अन्य निकायमा सर्दा ५१ उजुरी कार्यान्वयन हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।
घरेलु हिंसाविरुद्ध अहिले घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ कार्यान्वयनमा छ। ऐनको परिभाषा अनुसार, घरेलु सम्बन्ध भन्नाले ‘वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूबीच भएको सम्बन्ध हो। सो सम्बन्धले सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउँछ। यस्तै, घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो।’