सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वन कर्मचारीबाट मेसिन प्रयोग गरेर हजार रुख फँडानी

२०८० असोज १३, ११:१३ कमल सावद

धनगढीः कैलालीमा कर्मचारीहरूले मेसिन प्रयोग गरेर वन फँडानी गरेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ आमबगैयामा डिभिजन वन कार्यालय पहलमानपुरसहितका वनका कर्मचारीहरूले एक हजार रुख काटेका हुन्। 

स्थानीय जितबहादुर बडैलाले दुई बिघा वन क्षेत्र अतिक्रमण गरेर रुख रोपेका थिए। वनका कर्मचारीले धान खेती गर्न नदिएपछि उनले २० वर्ष पहिला बिरुवा रोपेको तर्क गरेका छन्। तर, बुधवार वनका कर्मचारीहरूले मेसिन प्रयोग गरेर एक हजार रुख काटेका बडैलाले बताए। उनले भने, ‘वन क्षेत्र हो। पहिला हामीले धान खेती पनि गरेका थियौ। तर, वनका कर्मचारीले गर्न दिएनन्। हामीलाई रुख रोप्न भने। रुख रोपेको पनि २० वर्ष भयो। रुखहरू ठुला थिए। सिसौ, अमला, आँप, कागती र डाले घाँसहरू थिए। वन कार्यालयबाटै लगेर लगाएको हो। ठुला रुख भएका थिए। एक हजार रुख वनका कर्मचारीले फँडानी गरेका छन्।’

 

वनका कर्मचारीहरूले मेसिन प्रयोग गरेर ठुला रुखहरू फँडानी गरेपछि उल्टै आरोप आफूलाई लगाएको  बडैलाले बताएका छन्। उनले नर्सरीका रुखसहित सालका रुख पनि आफूले नै काटेको भन्दै वनका कर्मचारीहरूले झुटो मुचुल्का तयार पारेको दाबी गरेका छन्। बडैलाले शुक्रवार धनगढीमा पत्रकारसँग कुरा गर्दै भने, ‘म सामुदायिक वनको उपाध्यक्ष हो। वन जोगाउनु मेरो दायित्व पनि हो। २० वर्षदेखि तारजाली लगाएर हुर्काएका बिरुवाहरू वनका कर्मचारीले व्यक्तिगत रिसिबिका कारण फँडानी गरे। उल्टै आरोप मलाई लगाउदैछन्। मलाई फसाउने काम हुँदैछ। भजनीमा बस्न सक्ने अवस्था छैन।’

डिभिजन वन कार्यालय पहलमानपुरको टोलीले दिउँसो नर्सरीका फलफूलका बिरुवा मेसिनबाट काटेको थियो भने राति साल र सिसौका ठुला रुखहरू काटेको उनले बताए। डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत नितेशकुमार भट्टराईको नेतृत्वमा वन रक्षकसहितको टोलीले रुख फँडानी गरेका आरोप उनको छ। सयपत्री सामुदायिक वनका अध्यक्ष पदम चौधरीले पनि वनका कर्मचारीले फलफूलका बिरुवा फँडानी गरेको बताए। उनले भने, ‘पहिला उहाँ (जितबहादुर बडैला) पक्राउ पर्नु भएको थियो। वनका कर्मचारीले अतिक्रमण गरिएको क्षेत्रमा बिरुवा रोप्ने सहमतिमा छोड्नु भएको हो। पछि उहाँले बिरुवा रोप्नु भयो। फलफूलका बिरुवा पनि छन्। फलफूल खानु होला, खान जोत नगर्नु होला भनिएको थियो। खनजोत गर्नु भएको थिएन। आँप, लिची लगायतका फलफूलहरू थिए। वनका मान्छेहरू आएर फँडानी गरे।’ उनका अनुसार तीन वटा गाडीमा वन रक्षकहरू आएका थिए। नर्सरी भित्र मेसिन चलाएर रुख फँडानी गरिएको हो।

 

 

डिभिजन वन कार्यालय पहलमानपुरले तीन हेक्टर अतिक्रमण गरिएको वन क्षेत्र खाली गरिएको प्रतिक्रिया दिएको छ। डिभिजन वन कार्यालय पहलमानपुका वन अधिकृत भट्टराइले नर्सरीलाई सामुदायिक वन बनाउन फलफूलका बिरुवा मात्र काटेको बताएका छन। उनले साल, सिसमका रुखहरु कटानी नगरेको दाबी उनको छ। उनले भने, ‘अतिक्रमण हटाइ सामुदायिक वनभित्र ल्याउन केही फलफूलका रुख काटिएको हो। हामीहरू फर्किएपछि सिसौ र सालका रुख काटिएका रहेछन्। बडैलालाई पक्राउ गर्न खोजेका हौँ। तर, मोटरसाइकल मात्र बरामद गरेका छौँ। उहाँ फरार हुनु भएको छ। हामीले खोज्दैछौँ।’ सामुदायिक वनले हटाउन नसकेको अतिक्रमण वनका कर्मचारीले हटाएको वन अधिकृत भट्टराईको तर्क छ। २०७६/०७७ सालमा वैज्ञानिक वनको समयमा उक्त अतिक्रमित क्षेत्र सामुदायिक वन क्षेत्रमा गाभिएको हो।

जितबहादुरका अनुसार नर्सरी नजिकै प्रहरी चौकी छ। तर, प्रहरी घटना स्थलमा आएन। रुख फँडानी गर्न प्रहरीले वन अधिकारीहरूलाई सहयोग नगरेको बडैलाले बताए। बडैलाले आफू असुरक्षित भएकोले घरबाट भागेको बताएका छन्। उनी मोटरसाइकल छोडेर जङ्गलको बाटा हुँदै भागेर धनगढी पुगेका छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस