सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस वर्षको मनसुन ढिलो बाहिरिने, तीनचार दिन लगातार पानी पर्ने

२०८० असोज १३, ०७:४७ खबर संवाददाता

धनगढी: यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने भएको छ। मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।

नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहेपनि औसत भन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाका अनुसार हाल बंगाल खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको छ।

यसले आगामी ३÷४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शनिबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

यो अवधिमा पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह केही बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसमविद्गका अनुसार पूर्वी भूभागमा अहिले बदली र हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस