कैलालीको सहारा घरलाई एक करोड ५० लाख सहयोग
धनगढीः कैलालीको साहारा घरलाई आर्थिक सहयोग गरिएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित सहयोगी हातहरू नेपाल संस्थाले सञ्चालन गरेको सहारा घरलाई एक करोड ५० लाख रुपियाँ सहयोग प्रदान गरिएको हो।
सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय योजना आयोगले उक्त सहयोग प्रदान गरेको छ। सो संस्थाले सडकमा अलपत्र परेका, मानसिक रोगी, बेसहारा तथा असाहस नागरिकलाई सहारा दिँदै आएको छ।
स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालन गर्दै आएका सहारा घरमा मानसिक रोगी तथा असाह्य बालबालिका गरी एक सय जनाभन्दा बढीले आश्रय पाइरहेका छन्। देश÷विदेशबाट उपलब्ध व्यक्ति तथा सङ्घ संस्थाको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको छ।
सरकारले पहिलो पटक यति ठुलो सहयोग गरेपछि साँच्चै नै राम्रो काम गरेको अनुभूति भएको सहाराका सञ्चालक विष्टले बताए। समाज सेवामा अहोरात्र खटिएका विष्टले सडकमा अलपत्र परेका नागरिकको अभिभावकीय जिम्मा सम्हाल्दै आएका छन्।
सरकारले लिनुपर्ने जिम्मेवारी आफूले लिँदाको खुसीसँगै सरकारको साथले उत्साह थपेको उनले बताए। बर्दगोरिया गाउँपालिकाको सिफारिसमा सहारा घरका लागि यत्तिको रकमसहितको योजना परेको हो।
बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले सहारा घरले राम्रो काम गरेको बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि योजना आयोगबाट अनुदान परेको बताए। भौतिक पूर्वाधार निर्माणका लागि छुट्याइएको सो योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा गइसकेको छ। एक महिनाभित्र ठेक्का सम्झौता गरी निर्माण योजनाको काम सुरु गरिने उनले बताए। विशेष अनुदान अन्तर्गत बहुवर्षीय योजना परेको जानकारी दिँदै प्रमुख कार्कीले राष्ट्रिय माध्यमिक विद्यालय कोटा तुल्सीपुर र मोहन्याल माध्यमिक विद्यालय बाँस्कोटालाई पनि एक करोड ८० लाख अनुदान प्राप्त भएको जानकारी दिए।
उक्त तीन वटै योजनाको एकै पटक टेन्डर आह्वान गरेर निर्माण प्रक्रिया अगाडि बढेको जनाइएको छ। सीमित स्रोत साधनमा खुम्चिएर सेवा दिइरहेको सहारा घर अब व्यवस्थित र सुविधायुक्त हुने अपेक्षा गरिएको छ।
सहारा घरमा पाँच जनाले स्वयंसेवकका रूपमा सहयोग गरिरहेका छन। उनीहरूले सहारा घरमा आश्रितहरूलाई खाना बनाउने, सरसफाइ गर्ने, हेरचाहमा सहयोग गरिरहेको सहारा घरका सञ्चालक विष्टले बताए।
सहारा घरको मानवीय सेवाबाट प्रभावित भएर देश÷विदेशमा रहेका नेपालीले जन्मदिन, विवाह, उत्सवमा खर्च गर्ने रकम बचाएर सहारा घरलाई दिने गरेका छन् । सहयोगबाट नै अहिलेसम्म सहारा घरमा आउने असहाय, दुःखी, पीडितलाई खाने बस्ने व्यवस्था भएको सञ्चालक विष्टले बताए।