सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबरजस्ती करणीमा परेका ९० महिला कैलाली प्रहरीमा, ८५ मुद्दाको ‘रापसाप’

२०८० असोज ९, १०:४६ खबर संवाददाता

धनगढीः जबरजस्ती करणीको सिकार बन्न पुगेका ९० महिला प्रहरीको सम्पर्कमा आइपुगेका छन्। आर्थिक वर्ष २०७९÷८० मा जबरजस्ती करणीको सिकार बन्न पुगेका ९० महिलाहरु पीडकलाई कारबाहीको माग गर्दै प्रहरीमा पुगेका हुन्।

जबरजस्ती करणीमा पर्नेमा विवाहित महिलादेखि किशोरीसम्मै रहेको पाइएको छ। गत वर्ष प्रहरीमा दर्ता भएका जबरजस्ती करणीका ९० उजुरीमध्ये ८५ उजुरीमाथि कारबाही भएर मुद्दा किनारा लागिसकेको छ। सो अवधिमा प्रहरीले जबरजस्ती करणी उद्योगमा २३ वटा मुद्दा दर्ता गरेकोमा २२ वटाको फस्र्यौट भइसकेको छ।

जिल्लाभित्र युवतीदेखि किशोरीसम्म जबरजस्ती करणीमा परेका घटना प्रहरीमा दर्ता भएका हुन्। कैलाली प्रहरीले दिएको जानकारी अनुसार गत वर्ष जबरजस्ती करणीका ९० उजुरी प्रहरीमा दर्ता भएका छन्। तीमध्ये ८५ मुद्दाको फस्र्यौट भइसकेको छ। त्यस्तै जबरजस्ती करणी उद्योगमा २३ मुद्दा चलाइएकोमा २२ मुद्दाको फस्र्यौट भइसकेको छ।

मुलुकी अपराध संहिता ऐन–२०६४ ले जबरजस्ती करणीसम्बन्धी कसुरको व्यवस्था गरेको छ। ऐनअनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरीबिना करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा त्यस्ता महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने उल्लेख छ।

वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा समेत पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैदको व्यवस्था छ। अन्यको हकमा ७ देखि १० वर्ष कैद सजाय तथा क्षतिपूर्तिको व्यवस्था समेत छ। जबरजस्ती करणी अपराधका अधिकांश घटनामा आफन्त, अभिभावक तथा नातेदारको संलग्नता बढी हुने भएकाले हाडनाता करणीसम्बन्धी सजायमा थप कडाइको व्यवस्था गरिएको छ।

विशेष गरी २० वर्षमुनिका किशोरीसँगको विवाहलाई अवैध र १८ वर्षमुनिका किशोरीसँग सहमतिमा हुने शारीरिक सम्बन्धलाई समेत कानुनले जबरजस्ती करणी मानेको छ। त्यस्तै लिभिङ टुगेदर र सहमतिमा हुने सम्बन्धलाई लिएर युवतीले प्रहरीमा जाहेरी दिएमा जबरजस्ती करणी मुद्दा आकर्षित हुन्छ।

कमेन्ट लोड गर्नुस