सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएई जाने श्रमिकले पासपोर्ट आफैसँग राख्न पाउने

। फोटो स्रोत ।
२०७६ वैशाख १३, ०३:१९ खबर संवाददाता

रोजगारको लागि युएई गएका श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउने भएका छन्। संयुक्त अरब इमिरेट्स र नेपाल सरकारका प्राविधिक समितिले तयार पारेको सम्झौताको मस्यौदामा श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउने उल्लेख गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा राम प्रसाद घिमिरेले जानकारी दिए। यसले करार अवधी सकिनु अगावै नेपाल फर्कन चाहने श्रमिकलाई सहज हुनेछ।

त्यस्तै श्रम सम्झौता कार्यान्वयनमा आइसकेपछि मुद्दा मामिला (प्रतिनिधी, अनुवाद) लगायतको खर्च सबै रोजगारदाता कम्पनीले व्यहोर्ने छ। महिना पुगेको १० दिन भित्र तलव नपाए उजुरी दिन पाउने, वर्क इन्स्योरेन्स (मूत्यु भएको खण्डमा लास समेत नेपाल पठाउने), हेल्थ इन्स्योरेन्सको सेवा रोजगारदाता कम्पनीले दिनुपर्ने छ।

‘सम्झौतामा विदेशी कामदारलाई भन्दा थोरै तलब दिन नपाउने, नेपाल फर्कन चाहेमा करार अवधि सकिए पनि नो अब्जेक्सन लेटर दिने , पासपोर्ट कामदारले राख्न पाउने व्यवस्था पनि गरिएको छ,’ घिमिरेले भने। सम्झौता पछि कामदारको सम्पुर्ण लागत, म्यानपावरको कमिसन, कामदारको वासस्थान, बीमा आदिको व्यवस्था रोजगार दाताले व्यहोर्नेछ।

यस मस्यौदालाई नेपाल र यूएई मन्त्रिपरिषदको निर्णयले पास गरेपछि मन्त्रीस्तरीय हस्ताक्षर हुनेछ। मन्त्रीस्तरीय हस्ताक्षरपछि लागू हुने घिमिरेले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस