सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा गैरकानुनी बालुवा ढुवानी गर्नेलाई ५० हजार जरिबाना

अत्तरिया अनलाइनबाट
अत्तरिया अनलाइनबाट । फोटो स्रोत ।
२०८० असोज ५, ०७:५६

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले गैरकानुनी बालुका ढुवानी गर्नेलाई ५० हजार जरिबाना तिराएको छ। बुधवार नगरपालिकाको वडा नम्बर १२ मा अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको ट्याक्टरलाई ५० हजार जरिबाना तिराइएको हो।

एक ट्रली बालुवाको तीन हजार मूल्य हुन्छ। तर, नगरपालिकाले ५० हजार जरिबाना लिएपछि सो विषय चर्चामा छ। सु.प.प्र ०१००२ त ६७३९ नम्बरको ट्याक्टरबाट ५० हजार जरिबाना लिइएको हो।

विगतमा अवैध रूपमा नदीजन्य पदार्थ अवैध ढुवानी गरेमा एकदेखि २ हजार मात्रै जरिबाना लिने गरिएको थियो। जिल्लाको गोदावरी नगरपालिका नगरपालिकाले असार १ गतेदेखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको थियो।

भाद्र मसान्तसम्म पनि नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलन तथा ढुवानीका लागि ठेक्का सम्झौताको प्रक्रिया पूरा गर्न सकेको छैन। गोदावरीका नदीका ढुङ्गा, बालुवा र गिट्‍टी उत्खनन र ढुवानीको ठेक्का सम्झौता नभएकाले उक्त काममा रोक लगाइएको छ। तर, रोक लगाइएको अवधिमै नदीजन्य पदार्थको उत्खनन र ढुवानी नरोकिएपछि नगरपालिकाले जरिबाना लिन थालेको बताएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गर्ने तीन वटा ट्याक्टरलाई ५० हजारका दरले जरिबाना असुल गरेको छ। कार्यपालिकाबाट गरिएको निर्णय अनुसार नै जरिबाना तिराइएको नगरपालिकाको दाबी छ। गोदावरी नगरपालिकाको ९५ औँ कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन वा ढुवानी गरेमा ५० हजार देखि एक लाख सम्म जरिबाना गर्ने निर्णय गरेको थियो। जसअनुसार ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर÷भ्याकुलोडर÷विसिलाई एक लाख जरिबाना तोकिएको हो। नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने समेत निर्णयमा उल्लेख छ।

नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनमा रोक लगाएको समयमा स्टक प्रमाणित गरेर भने ढुवानी गर्न सक्ने जनाएको थियो। तर, स्टक प्रमाणित नगरी ढुवानी गरेको पाइएका ट्याक्टरलाई जरिबाना गर्ने गरिएको हो।

नगरपालिकाले असार ३ गते जारी गरेको सूचनामा सडकका दाँया बाँया, खोला किनार, सामुदायिक वन जस्ता ठाउँहरू बाहेक आफ्नो वा भाडामा लिएको जग्गामा राखेका नदीजन्य पदार्थको स्टक प्रमाणित गराउन ७ दिने सूचना जारी गरेको थियो। सो सूचना अनुसार चालु आर्थिक वर्षमा ४० जनाले मात्रै स्टक प्रमाणित गराएका थिए।

हाल नगरपालिकाले गोदावरीका तीन वटा नदीबाट नदीजन्य पदार्थ संकलन गर्नको लागि विद्युतीय बोलपत्र आह्वान गरेको छ। उक्त बोलपत्रमा सहभागी हुनका लागि असोज ५ गते सम्मको समय तोकिएको छ।

गत आर्थिक वर्षमा नगरपालिकाले ८ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थको विक्री शुल्क सङ्कलन गरेको थियो। विगतमा गोदावरीका तीन वटा नदीको एउटै बोलपत्र आह्वान गरिदै आएकोमा यस पटक भने खुटिया नदीको छुटै र खैराना नदी र गोदावरी नदीको छुटै बोलपत्र आह्वान गरिएको छ। जस अनुसार खुटिया नदीको न्यूनतम बोलपत्र रकम ८ करोड ७६ लाख ७ हजार ७२८ र खैराना र गोदावरी नदीको न्यूनतम बोलपत्र रकम ४ करोड ९७ लाख ६ हजार १५६ तोकिएको छ।

गत वर्षको तुलनामा दोब्बर बढी न्यूनतम बोलपत्र रकम तोकिएको भएपनि यसवर्ष नदीमा नदीजन्य पदार्थ बढी भएको र समयमै बोलपत्र आह्वान गरिएकाले ठेकेदार पाउने विश्वास नगरपालिकाले लिएको जनाएको छ। नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि हरेक आर्थिक वर्षमा बोलपत्र आह्वान गरेर ठेकेदार मार्फत नदीजन्य पदार्थको विक्री शुल्क उठाउने गरेको छ।

 

कमेन्ट लोड गर्नुस