सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताललाई तीन महिनामा सुधार्ने सरकारको उद्घोष

२०८० असोज ४, ०६:४८ नारायण अवस्थी

धनगढी:सेती प्रादेशिक अस्पतालमा तीन महिना भित्र सुधार ल्याउने प्रदेश सरकारले उद्घोष गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बिहीबार अस्पतालको अनुगमन पश्चात् व्यापक सुधार गर्ने बताएका हुन्। सेती प्रादेशिक अस्पताललाई छिट्टै दुई सय शय्यामा स्तर वृद्धि गरिने उनीहरूले बताएका छन्।

सरकार गठन भएको ८ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीले बिहीबार पहिलोपटक एक साथ सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका हुन्। अनुगमनको क्रममा सर्वसाधारणले सेतीमा उपचार पाउन निकै समस्या भोग्नुपरेको मुख्यमन्त्री र मन्त्रीहरूसँग गुनासो गरेका छन्।

सेतीमा दैनिक करिब १ हजार ५ जना बिरामी ओपिडीमा आउने गरेका छन् भने अस्पताल भर्ना भएर उपचार गराउनेको सङ्ख्या पनि उपलब्ध शय्या क्षमताभन्दा बढी हुने गरेको छ। सङ्घीय सरकारबाट आफ्नो मातहतमा सेती अस्पताल ल्याएको दिनदेखि अस्पतालको क्षमता विकास गर्ने धक्कु लगाउदै आएको प्रदेश सरकारले २०७९ साउन २४ मा सेती अस्पताललाई दुई सय शय्यामा स्तर वृद्धि गर्ने निर्णय गरिसकेको छ। दुई सय शय्या बनाउने निर्णय भएको एक वर्ष पूरा हुँदासम्म अस्पतालको ओएण्डएमसम्म प्रदेश सरकारले स्वीकृत गर्न सकेको छैन। तर, यो पटक दुई सय शय्यामा अस्पतालको स्तरोन्नति गरेर सेवामा सुधार गर्ने सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बताए। "हामी छिट्टै दुई सय शय्याको ओएण्डएम बनाएर सेवा विस्तार गर्ने छौँ," उनले भने, "यो पटक अस्पतालको सुधार गरेर सेवा प्रभावकारी बनाइनेछ।"

सेती अस्पतालमा उपचार गर्न आउने बिरामीको समयमा उपचार सेवा नपाएको गुनासो रहदै आएको छ। बिरामीको चाप हरेक वर्ष बढ्दै गए पनि जनशक्ति र भौतिक पूर्वाधारको अवस्थामा सुधार हुन नसक्दा उपचार सेवा प्रभावित हुने गरेको छ। पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएकाले अस्पतालको सुधार गर्नुपर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले बताए। "सेतीको सुधार गर्ने मुद्दा हरेक चुनावमा उठ्ने गर्छ। तर, अहिलेसम्म सुधार भएको छैन," उनले भने, " यो पटक अस्पताल सुधार गरेर अगाडि बढ्न धेरै काम अगाडि बढी सकेको छ।" सेती अस्पतालको खर्च प्रदेश सरकारले धान्न नसक्ने भएकाले सङ्घीय सरकार मातहत सेतीलाई चलाउनुपर्ने माग सर्वसाधारणले गर्न थालेका छन्।

प्रदेश सरकारले जिल्ला अस्पताल, महाकाली र टीकापुर अस्पताल राम्रोसँग चलाएर सेती सङ्घीय सरकारले नै चलाए सेवा विस्तार, जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार विकास गर्न सहज हुने भए पनि सेती अस्पतालको मोह प्रदेश सरकारले त्याग्न सकेको छैन। अस्पताल चलाउन दुई सय शय्याको ओएण्डएम स्वीकृत गर्ने बताइए पनि जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोक सेवा खोल्ने या अस्थायी चिकित्सक राखेर अस्पताल चलाउने भन्ने बारे भने अनुगमन पश्चात् मुख्यमन्त्री र मन्त्रीहरूले केही बताएका छैनन्। तर, तीन महिनामा सेती अस्पतालमा देखिने परिवर्तन आउने मुख्यमन्त्री कमलबहादुर शाहले बताए। "सेती अस्पतालको क्षमता बढाएर तीन महिना भित्र परिवर्तन ल्याउनेछौ," उनले भने, "अस्पतालमा सुधारको प्रक्रिया सेतीबाट सुरू हुनेछ।"

प्रदेश सरकार गठन भएदेखि प्रदेश मातहतका कर्मचारी अभावमा सरकार चली रहेको छ। स्वास्थ्य सेवा तर्फ सुदूरपश्चिम सरकारसँग केवल ७ जना विषेशज्ञ चिकित्सक मात्रै छन्। सेती प्रादेशिक अस्पताल अहिले पनि करार र ज्यालादारी चिकित्सक र स्वास्थ्यकर्मीको भरमा चलेको छ। तर, ओएण्डएम स्वीकृत पश्चात् स्थायी चिकित्सक भर्ना गर्ने वा करार सेवालाई नै प्राथमिकता दिने भन्ने विषमा भने केही खुलाइएको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस