सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘माइनर क्राइम’ले सुदूरपश्चिम आक्रान्त, उपेक्षित अपराधको चढ्दो ग्राफ

२०८० असोज १, १०:५२

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा ‘माइनर क्राइम’को ग्राफ चढ्दो छ। सुन्दा सामान्य लाग्ने ‘माइनर क्राइम’ का रूपमा लिने गरिएको चोरीका घटनाबाट सुदूरपश्चिमको समाज आक्रान्त छ। यस वर्ष पनि ठूला चाडपर्वको मौसम शुरू भएको छ। पर्वको माहोलको चक्करमा आफ्नै घर र धनसम्पत्तिको सुरक्षामा पनि बेपर्वाह भइदिंदा यही मौकामा बढी चोरी हुने गरेको छ।

चोरी कार्यमा संलग्न समुहले यही मौकालाई उपयुक्त ठान्दै ठाउँठाउँमा चोरीका घटना घटाउने गरेका छन्। दशैं, तिहारलगायतका ठूला चाडबाडका बेला धेरैका घरमा धनमाल हुन्छ। सबै व्यस्त हुने र सहर बजारमा बस्नेहरू गाउँतिर लाग्ने भएकाले चोरहरू चाडबाडमा बढी सक्रिय हुने गरेको प्रहरी अधिकृतहरु बताउँछन्। सबभन्दा बढी चोरीका घटना चाडबाडको समयमा हुने गरेको प्रहरीको अपराध सम्बन्धी वार्षिक आँकडाले देखाउने गरेको छ।

प्रहरीको वार्षिक अपराध चार्टभित्र महत्वका साथ समेटिने गरे पनि चोरीका घटनालाई प्रायः सामान्य अपराधका रूपमा लिने गरिन्छ। जघन्य अपराधमा केन्द्रित हुनुपर्ने प्राथमिकतालाई अगाडि सार्दै कतिपय प्रहरी अधिकृत नै यसलाई ‘माइनर क्राइम’ भन्ने गर्छन्।
व्यक्तिको ज्यानै लिने गरी हुने ‘खुन डाँका’ जस्ता अपराधलाई छुट्याएर हेर्दा चोरीका घटना सामान्य नै लाग्छन्। मुलुकी ऐनको चोरी सम्बन्धी महलमा ‘रहजनी चोरी’लाई ‘बाटो, घाटो वा जंगलमा ढुकी जबरजस्ती चोरी गर्नु’ भनेको छ।

सुदूरपश्चिममा गत आर्थिक वर्ष मात्र डाका चोरीका ११ घटना प्रहरीमा दर्ता भएका छन्। जुन अघिल्ला दुई आर्थिक वर्षको तुलनामा यस्तो चोरी तीन गुणाले बढी हो। अर्को हो जबरजस्ती चोरी। मुलुकी ऐनले ‘कुटपिट, हातपात गरी वा बाँधी, थिची वा उतिखेरै ज्यान लिने वा जीउ जखम, अंगभंग गर्ने डर त्रास गराई वा भित्र पसेको मानिस निस्कन नहुने गरी ढोका बन्द गरी चोरेमा वा चोरी गरेको थाहा पाई मौकैमा वा दपेट्दै गई माल लिन वा चोर पक्रन खोज्दा चोरले उल्लिखित जोरजुलुम गरेमा’ जबरजस्ती चोरी हुने उल्लेख छ। गत वर्ष यस्ताखाले चोरीका दुई घटना प्रहरीमा दर्ता भएका छन्।

अर्को खाले चोरी हो नकबजनी। ‘खुला ढोकाबाट बाहेक सुरुङ खनी वा भित्ता, झयाल ढोकाहरू फोरी वा खोली वा छाना कौसी झयाल पर्खाल लगायत गैर बाटोबाट कुनै तरहले भित्र पसी निस्के नकबजनी गरेको ठहर्ने’ मुलुकी ऐनमा उल्लेख छ। गत वर्ष नकबजनी चोरीका १९ उजुरी प्रहरीमा दर्ता भए।

साधारण चोरीसँगै रहजनी, जबरजस्ती र नकबजनी चोरी बढ्दो क्रममा छ। यी घटनाले घर, बाटोघाटो सबै असुरक्षित रहेको र व्यक्तिका घरदेखि सार्वजनिक स्थलसम्म चोरहरूको रजगज चलेको देखाउँछ। चोरी सम्बन्धी अपराधले गाउँभन्दा सहर बढी आक्रान्त बनेको आँकडाहरूले देखाउँछन्। बढ्दो शहरीकरण र अव्यवस्थित बसोबाससँगै चोरीको अपराध जोडिएको देखिन्छ।

सुदूरपश्चिम प्रदेशभित्र गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी साधारण चोरीका एक सय २५ घटना प्रहरीमा दर्ता भएका छन्। सवारी चोरी १७ घटना प्रहरीमा दर्ता भएको तथ्यांकले देखाएको छ। गत वर्ष मात्र प्रदेशभित्र विभिन्न चोरीका एक सय ७८ घटना प्रहरीमा दर्ता भएका छन्। अपराध संहिताको परिच्छेद २० ले चोरी तथा डाँका चोरी सम्वन्धि कसुर अन्तर्गत दुईदेखि ७ वर्षसम्म कैद र २० हजारदेखि ७० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ।

कमेन्ट लोड गर्नुस