सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तस्करीको लाइन, ९० जना पक्राउ पर्दा अधिकांश फरार

२०८० भदौ ३१, ०२:५५

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको कैलालीमा बाह्रैमास तस्करी जारी रहन्छ। भारतसँग कैलालीको १०१ किलोमिटर सीमा छ। धनगढी, जुगेडा, कैलारी, भजनी, टीकापुरलगायत नाकाबाट तस्करी हुने गरेको छ। पछिल्लो समय तस्करीको सामान बरामद हुने क्रम बढेपछि यहाँ तस्करीको लाइन नै भएको विषयलाई पुष्टि गर्छ।

अर्थात पछिल्ला दिनमा तस्करी पनि उत्तिकै मौलाएको छ। भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम बढेपछि प्रदेश प्रहरी कार्यालयले निगरानी बढाएको छ। भन्सार छलीका सामान कुनै पनि स्थानबाट भित्र्याउन नदिन प्रहरी एक्सनमा उत्रिएको भए पनि नियन्त्रण हुन सकेको छैन्। भारतसँग सीमा जोडिका कैलाली र कञ्चनपुरका सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ।

सुदूरपश्चिममा गत आर्थिक वर्षमा मात्र प्रहरीले साढे तीन करोड बढीको भन्सार छलीका सामान जफत गरेको छ। सो अवधिमा कैलाली र कञ्चनपुरबाट तस्करीमा संलग्न ९० जनालाई पक्राउ गरिएको छ। तर अधिकांश भन्सार छलीमा संलग्नहरुलाई भने प्रहरीले पक्राउ गर्न सकिरहेको छैन्।

बेवारिसे अवस्थामा सामान मात्र बरामद हुने गरेको छ। राजश्व चुहावट रोक्न प्रहरी संगठनको नीति अनुसार कैलाली र कञ्चनपुरमा प्रहरीले निगरानी बढाउँदा ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद हुने गरेपनि अधिकांश संलग्न व्यक्ति भने पक्राउ पर्ने गरेका छैनन्। प्रहरीले हरेक दिन दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा र हार्डवेयरका अबैध सामान मात्र धमाधम बरामद गर्दै आएको छ।

दिनहुँ डेढ लाखदेखि चार÷पाँच लाखसम्मका सामान बरामद हुने गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। प्रहरीले विशेष गरी कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रबाट तस्करीको सामान बरामद गर्दै आएको छ। कैलाली र कञ्चनपुरको १३२ दशमलव ५ किलोमिटर खुला सीमाना भारतसँग जोडिएको छ। यो क्षेत्रमा दैनिक तस्करीको सामान बरामद हुने गरेको छ।

केराउ तस्करी रोक्न खोज्दा २०७७ सालमा धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको तस्कर समूहले हत्या नै गरेको थियो। अहिले भारतीय कपडा, मोटर पार्टस्, हार्डवेयरका सामान, कुरमुरे, कुरकुरे, लेज, गुटखा, सुर्ती, कोल्ड ड्रिङ्स, चिनी, चकलेट, मिठाइ र किराना सामानहरूको मुख्य तस्करी भइरहेको छ।

कमेन्ट लोड गर्नुस