बाख्रामा ‘पिपीआर’ पुष्टिः कैलाली र कञ्चनपुरमा सतर्कता बढाइयो
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बाख्रामा लाग्ने अत्यन्त सङ्क्रामक ‘पिपीआर’ (बाख्राको हैजा) रोगको सङ्क्रमण पुष्टि भएको छ।
धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरका पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनामा पिपीआर ‘पोजेटिभ’ देखिएको हो।
प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा समेत सङ्क्रमण फेला परेको छ। प्रारम्भिक अनुसन्धानले भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा भित्र्याइएका बोकाबाट रोग फैलिएको देखाएको छ। ती पशु सीमानाकामा हुने स्वास्थ्य परीक्षण छलेर ल्याइएकाले स्थानीय बथानमा भाइरस सरेको हुनसक्ने जनाइएको छ।
पिपीआर विषाणुजन्य र अत्यन्त छिटो फैलिने रोग भएकाले छोटो समयमै ठूलो क्षति पुर्याउन सक्छ। उच्च मृत्युदरको जोखिम रहने भएकाले पशु प्राविधिकहरूले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
पशु सेवा कार्यालय र प्रयोगशालाले नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिनसम्म छुट्टै (क्वारेन्टाइन) राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिएका छन्।
खोरमा रहेका बाख्रामा कडा ज्वरो, मुखमा घाउ, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
अवैध पशु ओसारपसारका कारण फैलिने यस्ता महामारीले समग्र पशुपालन क्षेत्रलाई गम्भीर असर पार्न सक्ने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्नु र किसान स्वयं सचेत रहनु आवश्यक रहेको सरोकारवालाले बताएका छन्।